मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ३, आइतवार

विगत सात दशकमा ७ वटै संविधान फेरिए पनि तीन वटा संविधानको मात्रै सक्कल प्रति सुरक्षित राखिएको नेपालमा ऐतिहासिक महत्त्वका दस्ताबेजहरूको संरक्षण बारे चासो र चिन्ता प्रकट हुने गरेको छ।

नेपालको पछिल्लो संविधानको सक्कल वर्षौँ सम्म नष्ट नहुने तथा आगो र भूकम्पबाट पनि क्षति नहुने गरी पाँच फरक ठाउँमा सुरक्षित राखिएको दाबी गरिएको छ।

पाँचौँ शताब्दीदेखिका विभिन्न कागजपत्र र दस्ताबेजहरू सुरक्षित राखिरहेको राष्ट्रिय अभिलेखालयसँग सातमध्ये दुई वटा मात्रै संविधानका सक्कल प्रति छन्।

“हामीसँग विसं २०४७ र २०७२ सालमा जारी भएका संविधानका सक्कल प्रतिहरू सुरक्षित छन्। २०६३ सालको अन्तरिम संविधान हामीसँग पनि छैन,” अभिलेखालयकी प्रमुख सौभाग्य प्रधानाङ्गले भनिन्।

विसं २०६३ सालको संविधानको सक्कल प्रति कानुन मन्त्रालयले राखेको छ भने त्यसअघिको संविधानका सक्कल प्रति २०३० सालमा सिंहदरबारमा भएको आगलागीमा जलेर नष्ट भएको ठानिएको छ।

विसं २०३० सालमा सिंहदरबार मा भएको आगलागीमा धेरै ऐतिहासिक दस्ताबेज सहित त्यसअघिका संविधानका सक्कल प्रतिहरू समेत जलेको हुनसक्ने बताइन्छ।

नेपालका अधिकांश कानुन र संविधानहरूको सङ्ग्रह राखेको कानुन मन्त्रालयले पनि २०३० अघिका कानुन र संविधानहरू फेला पार्न सकेको छैन। मन्त्रालयसँग २०१९ सालको संविधानमा २०३२ सालमा भएको संशोधनको सक्कल प्रति सहित त्यसपछिका संशोधन र संविधानका सक्कल प्रतिहरू छन्।

“सिंहदरबारमा आगलागी भएको कारणले त्योभन्दा अघिका हामीले फेला पार्न सकेका छैनौँ तर हामीले अन्य अभिलेखालयहरूसँग पनि समन्वय गरेर खोजी चाहिँ गरिरहेका छौँ,” कानुन मन्त्रालयका सचिव उदयराज सापकोटाले भने ।

तत्कालीन राष्ट्रपति डाक्टर रामवरण यादवले जारी गरेको संविधानका सक्कल पाँच प्रति बनाएर संसद् सचिवालय, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री कार्यालय, कानुन मन्त्रालय र राष्ट्रिय अभिलेखालयमा अभिलेखीकरण गरिएको थियो।

नेपालमा हालसम्म जारी भएका संविधान

१. विसं २००४ वैधानिक कानुन
२. विसं २००७ अन्तरिम शासन विधान
३. विसं २०१५ नेपाल अधिराज्यको संविधान
४. विसं २०१९ नेपालको संविधान
५. विसं २०४७ नेपाल अधिराज्यको संविधान
६. विसं २०६३ नेपालको अन्तरिम संविधान
७. विसं २०७२ नेपालको संविधान

Leave a Reply

Your email address will not be published. Required fields are marked *