मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २७, आइतवार

एजेन्सी । १८ वर्षको कलिलो उमेरमै युएस ओपन टेनिस जितेर इतिहास रचेकी बेलायतकी इमा रडुकानुले उपाधिसँगै २.४ मिलियन अमेरिकी डलर पुरस्कार अर्थात २९ करोड ३० लाख नेपाली रुपैयाँ हात पारेको हो ।

इमाले गएराति युएस ओपन टेनिसको महिला एकलतर्फको उपाधि जितेकी हुन् । उनले क्यानडाकी लेइला फर्नान्डेजलाई सोझो सेटमा पराजित गरेकी थिइन् ।

अमेरिकाको न्युयोर्कमा भएको खेलमा इमाले १९ वर्षीया लेइलालाई ६–४ र ६–३ ले पराजित गर्दै पहिलो ग्रान्डस्लाम टेनिसको उपाधि उचालेकी हुन् ।

इमाले जितेको यो उपाधि बेलायतका लागि ४४ वर्षपछि महिलातर्फ ग्रान्डस्लामको उपाधि हो । पछिल्लो पटक भर्जिनिया वेडले सन् १९७७ मा विम्बल्डन टेनिसको उपाधि जितेकी थिइन् ।

इमा सन् २००४ पछि ग्रान्डस्लामको उपाधि जित्ने सबैभन्दा कान्छी खेलाडीसमेत बनेकी छिन् । उनले ५ वर्षको उमेरदेखि नै टेनिस खेल्न थालेकी थिइन् ।

रुमा रोमानियन बाबु र चाइनिज आमाकी सन्तान हुन् । उनको जन्म भने क्यानडामा भएको थियो ।

उनी २ वर्षको हुँदा उनका आमाबुबा इंग्ल्यान्ड गएका थिए । त्यहाँ काम पाएपछि उनीहरू इंग्ल्यान्डमै बस्दै आएका छन् ।

इमाले सेमिफाइनलमा ग्रीसकी मारिया साकारीलाई सोझो सेटमा हराउँदै फाइनलमा पुगेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *