कृष्ण सिंह, सर्लाही । २०७८ भाद्र १६, बुधवार

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट छुट्टिएर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बनेको राजनीतिक दललाई भदौ २२ गतेसम्म निर्वाचन कार्यालयले दिएको पार्टी रोज्ने समयको सदुपयोग गर्दै आज (बुधबार) मलंगवा स्थित जिल्ला निर्वाचन कार्यालयमा सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका ७ वटा वडाबाट निर्वाचित भएका २९ जना जनप्रतिनिधिहरुको सनाखत गरिएको छ।

निर्वाचन आयोगले निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न यही भदौ २२ गते अपराह्न ५ बजेसम्मको समय दिएको छ । सोही अनुसार आज ब्रह्मपुरी गाउँपालिका अन्तर्गतका ७ वटा वडाहरुबाट निर्वाचित अध्यक्ष, उपाध्यक्ष , वडाध्यक्ष ,वडा सदस्य र कार्यपालिका सदस्यहरु गरि जम्मा २९ जनाले आ-आफ्नो सनाखत गराएका छन् ।

कार्यव्यस्तताका कारण आज बुधबार उपस्थित हुन नसकेका बाँकी रहेका निर्वाचित जनप्रतिनिधिहरुले पनि निर्वाचन आयोगले दिएको भदौ २२ गतेसम्मको समयभित्र आ-आफ्नो सनाखत गराइसक्ने गाउँपालिका अध्यक्ष बिनोद कुमार साहले बताए ।

 सरकारले हालै ल्याएको अध्यादेशअनुसार सङ्घीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने व्यवस्था गरेपछि  जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल दर्ता भएको हो । यी दुबै दल विभाजित भई यही भदौ ९ गते आयोगमा दर्ता भएका हुन् ।

अध्यादेशमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल दर्ता प्रक्रिया शुरु भएको मितिले २१ दिनभित्र दल रोज्न सक्ने व्यवस्था भएअनुसार भदौ २२ गतेभित्र दुबै दलका जनप्रतिनिधिले सनाखत गर्नुपर्ने छ । सोही अनुसार प्रदेशसभा सदस्यहरुले प्रदेश निर्वाचन कार्यालय र स्थानीय जनप्रतिनिधिहरुले जिल्ला निर्वाचन कार्यालयमा गएर सनाखत गर्नुपर्ने हुन्छ । सनाखत गर्नका लागि नागरिकता वा मतदाता परिचय प्रमाणपत्र, निर्वाचित भएको वा प्रदेशसभा/स्थानीय तहबाट जारी भएको परिचयपत्र वा प्रमाणपत्र लैजानुपर्ने अनिवार्य हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *