मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १०, बिहिवार

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले मुख्यमन्त्रीको शपथग्रहण लगत्तै जसरी पनि बहुमत जोगाउने दाबी गरे।

आचार्यले लोकतन्त्र, विकास र स्थायित्व पक्षधर दलहरुसँग कुरा गर्ने र आफ्नै संख्या पुर्‍याएर बहुमत कायम राखिने बताए। नेकपा (एमाले) प्रदेश १ को संसदीय दलको नेतामा चयन भएको केही बेरमै आचार्य प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन्।

मुख्यमन्त्री नियुक्त भएलगत्तै आचार्यलाई प्रदेश प्रमुख प्यासीले पद तथा गोपनीयताको शपथ गराए। संविधानको धारा १६८ (१) अन्तर्गत बनेको शेरधन राई नेतृत्वको सरकार विघटन गरेर सोही धारा अनुसार आचार्यको नेतृत्वमा पुनः एमालेको एकल सरकार गठन भएको छ। आचार्यले संविधान अनुसार ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ। विश्वासको मत प्राप्त गर्न नसके उनी मुख्यमन्त्रीमा रहिरहन पाउने छैनन्।

प्रदेशसभामा सभामुखसहित एमालेका ५१ सांसद छन् जबकि कुल ९२ सदस्य छन । जसमध्ये बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ। पुर्व मुख्यमन्त्री राईले भने एमालेको प्रभाव र बर्चश्व जोगाउन आफूले राजीनामा दिएको बताउदै आफ्नै प्रस्तावमा आचार्यलाई दलको नेता बनाइएको बताए।

Leave a Reply

Your email address will not be published.