मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १०, बिहिवार
पोखरास्थित निजी क्षेत्रबाट संचालनमा आएको नेपालकै पहिलो मेडिकल कलेज ‘मणिपाल’ स्थानीय दुई व्यवसायी आनन्द राज बतास र नारायण पौडेलले संस्थागत रुपमा खरिद गर्न लागेका हुन्।
बतासको बतास अर्गनाइजेशन ६० प्रतिशत र पौडेलको अटोवेजको ४० प्रतिशत लगानी सहित कुल तीन अर्ब २२ करोड ६० लाख रुपैयाँमा यो मेडिकल कलेज खरिद गर्न लागेका हुन्।भौतिक संरचनासहित ४० रोपनी आफ्नै जग्गा रहेको मणिपाल पूर्णरुपमा ‘लोन फ्रि’ रहेकोले यो लगानीकर्ताको प्राथमिकतामा पर्दै आएको थियोे ।
भारतको मणिपाल एजुकेशन एन्ड मेडिकल ग्रुपको लगानीमा खुलेको यो मेडिकल कलेज सन् १९९४ बाट संचालनमा आएको थियो । यद्यपि कर र विभिन्न दायित्व गरी ९७ करोड ६० लाख रुपैयाँ तिर्न बाँकी रहेको छ।
भदौ ११ गते शुक्रबार यसको खरिद-बिक्री सम्झौता हुँदैछ। मणिपाल खरिदपछि मेडिकल कलेज तथा अस्पतालको अध्यक्षमा आनन्द बतास हुनेछन्। अर्का लगानीकर्ता पौडेल उपाध्यक्ष रहनेछन्। सन् १९९२ मा नेपाल सरकारसँग मेडिकल कलेज स्थापनाका लागि सम्झौताको दुई वर्षपछि संचालनमा आएको यस मेडिकल कलेजको ४० रोपनी आफ्नै जग्गाबाहेक थप १०० रोपनी लिजमा लिएर ७५० शय्याको अस्पताल समेत संचालन गरेको छ। यसको भौतिक संरचनाहरुमध्ये भवन मात्र १० लाख वर्गफीट बिल्टअप एरियाको रहेको छ। अस्पताल र मेडिकल कलेज दुवै गरी यसमा कुल ११०० जना कार्यरत छन्। मेडिकल कलेजसँग वार्षिक एक सय जनालाई एमबीबीएस पढाउने अनुमति छ।