
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०९, बुधवार
हृदयेश त्रिपाठीले नयाँ दल दर्ता गर्ने तयारी गरेका छन् । २०७४ सालको निर्वाचनमा एमालेको सुर्य चिन्हबाट सांसदमा विजयी भएपनि स्वतन्त्र राजनीतिक समूह बनाएर राजनीति गर्दै आएका त्रिपाठीले नयाँ दल गठनको तयारी गरेका हुन् ।
अवधि पत्रकार संघ नेपालले बुधबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता त्रिपाठीले आगामी निर्वाचनसम्म नयाँ दल दर्ता भइसक्ने र पार्टीको नाममा समाजवादी जोडिने बताए । उनले भने, ‘हामी कुनै पार्टीमा समावेश हुने वा एकीकरण प्रक्रियामा जान्नौं । आउँदो चुनावसम्म पार्टी छुट्टै पार्टी हुनेछ । आफ्नै दलको निर्वाचन चिन्हबाट उम्मेदवारी दिनेछौं ।

देश बनेपछि मधेसका समस्या पनि हल हुने उनको जिकिर थियो । ‘मधेसका समस्या भनेको देशकै समस्या हो। जबसम्म देश बन्दैन, तबसम्म मधेसका समस्या हल हुन सक्दैनन् । यही हाम्रो पार्टीको ठम्याइँ हो’, त्रिपाठीले भने, ‘३ दशक लामो मधेस आन्दोलनको क्रममा धेरै क्षति भयो , प्रतिफल आएन । देशका हरेक समस्या समाधान गर्दा मधेसका समस्या पनि समाधान हुनेछन् ।’ त्रिपाठीले पार्टीले किसानका मुद्दालाई बढी प्राथमिकता दिने र तराई, पहाड र हिमालका किसानको प्रतिनिधित्व हुने गरी दलले काम गर्ने बताए । सैद्धान्तिक विमतिमा भन्दा व्यक्तिगत कारणले दल विभाजन हुनुलाई दुर्भाग्यपूर्ण मान्दै नेता त्रिपाठीले दलहरुबीच बढेको तिक्तताले देश दुर्घटनामा जाने खतरा औंल्याए ।