प्रधानमन्त्री ओलीको अड्डी ! ठाकुरको नगदी जिद्दी ! ! राजनीतिक बिचल्ली ! ! !
रंजन झा | २०७८ वैशाख
चर्चित साहित्यकार मार्क ट्वेन भन्छन् :-
“राजनीतिज्ञ र डाइपरलाई समय-समयमा फेरिरहनु पर्छ।”
तर दुर्भाग्य नै भनौं, नेपाली राजनीतिमा देखिने अनुहारहरु दशकौं देखि उस्तै छन्। वानप्रस्थको तयारीमा हुनु पर्ने व्यक्तिहरु सत्ताको केन्द्रमा बसेका छन् र देश एवं जनताप्रति निरन्तर अन्याय गर्दै आएका छन्।
वर्तमान परिपेक्ष्यको कुरा गर्दा सम्भवतः इतिहास कै सबैभन्दा शक्तिशाली खड्ग प्रसाद ओली नेतृत्वको सरकार आलोचनाको पराकष्ठामा पुगिसकेको छ। संबृद्ध नेपाल, सुखी नेपालीको नारा दिएका प्रधानमन्त्री ओलीको अकर्मण्यताको चर्चा चोक-चोक र गल्ली- गल्लीमा चलिरहेको छ। प्रधानमन्त्री ओलीले “आफ्नै पार्टी र विपक्षीले काम गर्न नदिएको” अभिव्यक्ति सार्वजनिक समारोहमा दिन थालेपछि उनको अकर्मण्यता झन उदाँगो हँुदै आएको छ।
दुई तिहाईको सरकारको नेतृत्व गरेका ओलीका केही आसेपासे बाहेक अन्यका लागि वर्तमान सरकार अस्वीकार्य भइसकेको छ। अझ प्रधानमन्त्री ओलीको असंवैधानिक कदमहरुलाई राष्ट्रपति विद्या देवी भण्डारीले आँखा चिम्लेर समर्थन गर्दै जानुले प्रजातांत्रिक व्यवस्थाको भविष्यमाथि नै आशंका गर्न थालिएको छ।
दलिय विवादका कारण लंगडो झैं बनेका ओली अहिले लगातार बैशाखीको खोजीमा छन्। र, यस्तो परिस्थितिमा उनको आँखा परेको छ, मधेश केन्द्रित राजनीतिमा आबद्ध दल, जनता समाजवादी पार्टी माथि जसको नेतृत्व गरिरहेका छन्, बयोवृद्ध नेता महन्थ ठाकुरले।
स्वच्छ, शालिन एवं भद्र नेताका रुपमा पहिचान बनाएका ७८ वर्षिय ठाकुर निरन्तर ओलीसँगको सम्पर्कमा छन्। कहिले चिया खाने त कहिले डिनरका लागि बालुवाटार पुगिरहेका छन्।
ओलीसँगको बढ्दो ठाकुरको यो भेटघाटलाई उनकै दलले राम्रो मानिरहेको छैन भने मधेशका जनता समेत आक्रोसित भएका छन्। स्वाभिमानको आन्दोलनलाई माखेसाँगलो भनेर आन्दोलनको मर्ममाथि प्रहार गरेको भन्दै ओलीलाई मधेशी जनताले अझै बिर्सन सकेका छैनन। सप्तरीको मलेठमा गराइएको नरसंहारको दोषी ओली नै हुन भन्ने उनीहरुको आरोप होइनकी ठहर नै छ।
यस्तोमा आफुले विश्वास गरेको नेताले ओलीसँग हेमछेम बढाएको आम मधेशीलाई मन परेको छैन। ठाकुरको यही क्रियाकलापले जनता समाजवादी पार्टी विभाजनको संघारमा छ र भोलीका दिनमा यो पार्टी चिरा चिरा हुनेमा दुई मत छैन। कतिपयले ठाकुरलाई ओलीको पुच्छरभन्दा पनि सत्ताको बागडोर सम्हाल्न सुझाव मात्रै नभएर आग्रह नै गरिरहेका छन्।
मधेश मात्र नभएर नेपाल कै अाँखा अहिले ठाकुर तर्फ सोझिएको छ। तर नन डिसाइसिभ जेन्टलम्यान (निणर्य लिन नसक्ने भद्र पुरुष) अर्थात महन्थ ठाकुरले यो जनभावनालाई कत्तिको बुझेका छन्। उनले बाहेक अन्यले बुझ्न सक्ने अवस्था छैन। हालै मात्र आयोजित एक सार्वजनिक समारोहमा गणतांत्रिक नेपाली राजनीतिका किंग मेकर पुष्पकमल दाहाल (प्रचण्ड)ले खुलेरै भने- “किन ओली कहाँ धाउनुहुन्छ, तपाइँ नै सरकार बनाउनुस। संविधान र लोकतन्त्रको भावनासँग खेलवाड गर्ने ओलीलाई साथ नदिनुस।” दाहालले भने झैं प्रधानमन्त्री ओलीको अहंका कारण देश अनिश्चतता तर्फ अगाडी बढिरहेको छ। संक्रमणको यो बेलामा सबैजसो राजनीतिक दलले ठाकुरलाई नै तारणहारको रुपमा देखि पनि रहेका छन्। तर, ठाकुरको मस्तिष्कमा के चलिरहेको छ वा उनी कसको इसाराको प्रतिक्षा गरिरहेका छन् भन्न कठिन छ? मधेशका जनताले आफनो हक र अधिकारका लागि गरिरहेकोे संघर्षका क्रममा संविधान निर्माण भइरहेका बेला अर्थात २०७२ सालमा राजमार्ग बन्द गरेका थिए।
नेपालमा आयात हुने मध्ये झन्डै ७० प्रतिशत सामग्री वीरगंज नाका बाटै हुने गरेकोले सरकारमाथि दबाब सिर्जना गर्न उनीहरुले नाकाबन्दी गरे। यो नाकाबन्दीमा भारत सरकारको साथ थियो वा थिएन यो अनुसन्धानको विषय हो तर सीमावर्ती क्षेत्रमा रहेका भारतीयले यो आन्दोलनलाई साथ दिएको दर्जनौं उदाहरण छन्। सोही नाकाबन्दीलाई राष्ट्रियतासँग जोडर इतिहास कै सबैभन्दा प्रखर राष्ट्रवादी बनेका ओलीप्रति ठाकुरको नरम रवैयालाई देखेर सबै हैरान र चकित छन्।
मधेशका माग एवं मुद्दालाई नजिकबाट बुझेका विश्लेषक खगेन्द्र संग्रौलाले त सार्वजनिक समारोह मै ठाकुरलाई ओलीसँग नजिकिनुको कारण बारे प्रश्न गरेका थिए। जसमा ठाकुरले आफ्नो नन डिसाइसिभ जेन्टलम्यानको पगरीलाई चरितार्थ गर्दै भनेका थिए- “मैले उहाँलाई समर्थन गरेको छैन, विरोध पनि गरेको छैन।” अब आफुलाई चेक हैन क्यास चाहियो अर्थात् उधारोमा कारोवार नगर्ने, नगद नै लिने र त्यसमा ओली लचिलो देखिएकोले छलफल अगाडी बढाएको नेता ठाकुरले प्रष्ट पारेका थिए।
ठाकुरका आसेपासेहरुले उनलाई मधेशका मसिहाको पगरी पनि भिडाईदिएका छन्। तर सोही मधेशको मुद्दालाई संसदमा कसले धोका दिएको जगजाहेर भइसकेको बेला पनि ठाकुर ओलीको पछि लाग्नुको कारण के होला? मधेश मामिलाका जानकारहरुको प्रश्न रहेको छ। ठाकुर शंकाको घेरामा पर्दै गएका छन्।
प्रधानमन्त्री पदमा रहेका बेला संसद बाटै सिंहमेव जयते, भारतको भाइरस कडा, रामको जन्मस्थान ठोरी र चुच्चे नक्साजस्ता विवादास्पद अभिव्यक्ति दिएर राष्ट्रवादी बनेका ओली कमजोर भएपछि अहिले भारतसँग समर्थन खोजिरहेका छन्। यता नेता ठाकुर एवं उनको दललाई समेत दक्षिणकै इसारामा चल्ने दलको रुपमा लिइदै आएको छ। त्यसैले ठाकुर कसैको इसारामा ओलीसँग नजिकिएको आम नेपालीको बुझाई रहेको छ।
हुनत राजनीतिको मार्ग सरल र सहज हुँदैन। यसमा स्थायी मित्र वा दुस्मन पनि कोही हुँदैन। तोलमोल राजनीतिक सफलताको मुख्य सुत्र पनि हो। तर देशको मुखिया बन्ने अवसर पाएको बेला मन्त्रि पदका लागि तोलमोल गर्नु भनेको कि त मुर्खता हो अथवा गुलामीको पराकाष्ठा हो।
विसं २०१६ साल देखि नै नेपाली राजनीतिमा होमिएका नेता महन्थ ठाकुरको छविमाथि प्रश्न गर्ने थोरै मात्र ठाँउ छ। आफ्नै सम्धी र सम्धिनीलाई दल र राजनीतिमा अवसर दिएको बाहेक उनको छवि स्वच्छ नै छ।
अझ ६ दशकदेखि लगातार राजनीतिक वृत्त मै रहेका ठाकुरलाई निरंकुश राजतन्त्र, संवैधानिक राजतन्त्रसहितको बहुदलिय प्रजातन्त्र र लोकतन्त्रको पर्याप्त अनुभव रहेको छ। यही अनुभवका कारण पनि उनलाई आम नेपालीले प्रधानमन्त्रीको रुपमा एक पटक हेर्न खोजेका छन्।
अर्कातिर नेपालको इतिहासमा मधेश मुलका कोही पनि व्यक्ति देशको कार्यकारी प्रमुखको पदमा पुग्न नसकेकोमा मधेशको गुनासो रहँदै आएको छ।
लोकतन्त्र स्थापना पछि डा. रामवरण यादव राष्ट्रपति र परमानन्द झा देशको उपराष्ट्रपति भएकै हुन तर कार्यकारी प्रमुखको रुपमा मधेशी मुलका कोही पनि व्यक्ति नेतृत्व दिन सकेका छैन। त्यसैले पनि महन्थ ठाकुरले ओलीको पुच्छर बन्नु भन्दा देशलाई नेतृत्व दिनु आवस्यक देखिएको छ।
प्रधानमन्त्री ओलीको अड्डी, ठाकुरको नगदी जिद्दीसंगै निम्तिएका राजनीतिक बिचल्लीको परिणाम पर्खनै पर्ने हुन्छ। फलस्वरुप मार्क टेवन्को भनाई अनुसार नेपाली राजनीतिमा सत्ता र स्वार्थको फोहोरी खेलमा राननीतिज्ञ र डाइपर दुवै फोहर भइसकेको अवस्था छ तसर्थ यो फेर्न जरुरी छ।