मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०२, बुधवार

आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमाससम्म २७ वाणिज्य बैंकहरुले कुल ४० खर्ब ८८ अर्ब ७९ करोड १५ लाख २६ हजार रुपैयाँ कुल निक्षेप संकलन गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको उक्त अवधिसम्मको अपस्किृत वित्तीय विवरण अनुसार औषतमा बैंकहरुको निक्षेप संकलन २१ दशमलव ४१ प्रतिशत बृद्धि भएको हो । अघिल्लो वर्ष यसै अवधिसम्म यी बैंकहरुले ३३ खर्ब ६७ अबै ९६ करोड ७२ लाख रुपैयाँ कुल निक्षेप संकलन गरेको थिए ।

बैंकहरुले आफ्ना ग्राहक सदस्यहरुबाट उक्त निक्षेप संकलन गरेका हुन । यस वर्ष निक्षेप संकलनमा सबैभन्दा अगाडी एनआईसी एशिया बैंक रहेको छ । यस बैंकले गत वर्ष २ खर्ब ८६ अर्ब ८२ करोड ६ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको हो । अघिल्लो वर्ष यस अवधिसम्म बैंकले २ खर्ब १ अर्ब ६३ करोड ३ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको थियो । अघिल्लो वर्षभन्दा बैंकको निक्षेप संकलन ४२ दशमलव २५ प्रतिशत बृद्धि भएको हो । एनआईसी एशिया बैंकपछि निक्षेप संकलनमा ग्लोबल आइएमई बैंक अघि रहेको छ ।

ग्लोबल आइएमई बैंकले अघिल्लो वर्षभन्दा २६ दशमलव ४३ प्रतिशत बढी २ खर्ब ६८ अर्ब ४३ करोड ३७ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको हो । २७ वाणिज्य बैंकहरुमध्य गत वर्ष नेपाल एसबिआई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको निक्षेप संकलन अघिल्लो वर्षभन्दा घटेको छ । नेपाल एसबिआई बैंकको अघिल्लो वर्ष १ खर्ब १० अर्ब ४४ करोड ५८ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन रहेकोमा गत वर्ष यो रकम ३ दशमलव ८१ प्रतिशत घटेर १ खर्ब ६ अर्ब ४३ करोड २३ लाख रुपैयाँमा सिमित भएको हो ।

त्यस्तै अघिल्लो वर्ष ९५ अर्ब २ करोड ८ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत वर्ष ७ दशमलव ८५ प्रतिशत कम ८७ अर्ब ५६ करोड ४२ लाख रुपैयाँभन्दा बढी मात्र निक्षेप संकलन गरेको हो । गत वर्ष रकमको हिसाबमा सबैभन्दा कम निक्षेप संकलन भने नेपाल बङ्गलादेश बैंकले गरेको छ । यस बैंकले ८७ अर्ब १२ करोड ७८ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको हो ।

अघिल्लो वर्षभन्दा यस वर्ष नेपाल बङ्गलादेश बैंकको निक्षेप संकलन ३१ दशमलव १५ प्रतिशत बृद्धि भएको हो । अघिल्लो वर्ष यस अवधिसम्म बैंकले ६६ अर्ब ४३ करोड ५० लाख ५४ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

Leave a Reply

Your email address will not be published.