मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ३०, शनिवार
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ‘राष्ट्रिय आर्थिक रुपान्तरण २०३० (नेट २०३०)’ नामक भिजन पेपर तयार पारेको जानकारी दिएका छन् । सो भिजनले नेपालमा करिब २२ लाख रोजगारी सृजना हुने दाबी उनले गरेका छन् ।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले आज शनिबार भर्चुअल रुपमा आयोजना गरेको दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले सो जानकारी दिएका हुन् । महासंघले १० वर्षमा १५० अर्ब अमेरिकी डलर बराबरको पूँजी निर्माण हुने अपेक्षाका साथ ‘राष्ट्रिय आर्थिक रुपान्तरण २०३० (नेट २०३०)’ नामक भिजन पेपर तयार पारेको बताए । यसबाट थप २२ लाखले रोजगारी पाउने उनको भनाइ छ ।
‘लक्ष्य प्राप्तिका लागि १० प्राथमिकताको क्षेत्र र १०० पहल पहिचान गरेका छौँ,’ उनले कार्यक्रममा भने ।
सोही अवसरमा उनले मौद्रिक नीतिले कोभिडपछिको पुनरुत्थान तथा साना एवं मझौला उद्यमको विस्तारमा विशेष ध्यान दिएको बताएका छन् । सरकारको राहत योजना विकसित मुलुकको जस्तो सिधै नगद दिने खालको नभए पनि सुधारमा सहयोगी रहेको उनले बताए ।