मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ३०, शनिवार
“राप्रपाको एकीकृत शक्तिले देशमा वैकल्पिक प्रजातान्त्रिक शक्ति खडा गर्छ । दुई तिहाई बहुमत प्राप्त कम्युनिष्टको सरकारले जनादेशको दुरुपयोग गर्याे ।”
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले पार्टी स्थापनाकालको उदेश्य पूरा हुनका लागि राप्रपाको एकीकृत शक्तिले देशमा वैकल्पिक प्रजातान्त्रिक शक्ति खडा गर्ने बताएका छन्।
‘एकीकृत भएको राप्रपाले समयको माग अनुरुप, हाम्रो सामुन्नेमा जुन मौका आएको छ, त्यो मौका छोपेर वैकल्पिक प्रजातान्त्रिक शक्ति खडा गर्नेछ, पार्टी स्थापनाकालको उद्देश्य पूरा गर्नेछ,’ अध्यक्ष राणाले शनिबार भने। आन्तरिक विवादका कारण सो उद्देश्य पूरा गर्न नसके पनि एक ढिक्का भएको राप्रपाले अब त्यो उद्देश्य पूरा गर्ने उनले विश्वास व्यक्त गरे।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ को कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका अध्यक्ष राणाले महाधिवेशनको क्रममा सबै तह र तप्काका संगठनहरू निर्माण गर्न सक्रिय भएर लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।
‘पार्टी एकतापछिको महाधिवेशनलाई संगठन निर्माण गर्ने अवसरको रूपमा लिनुपर्दछ । महाधिवेशनको बलमा निर्माण भएको सांगठानिक संरचनाबाट हामीले स्थानीय निकायको निर्वाचनमा सफलता हासिल गर्ने हाँकलाई साकार तुल्याउनु छ,’ राणाले बताए। त्यसैले संगठन निर्माण गर्न र जनतामाझ जान कुनै कसर बाँकी राख्न नहुने उनको भनाइ थियो ।
सो अवसरमा विभिन्न दल छाडेर ६५ जना राप्रपामा प्रवेश गरेका थिए ।
करिब दुई तिहाई बहुमत प्राप्त कम्युनिस्टहरूको सरकारले जनादेशको दुरुपयोग गर्दै देशलाई तहसनहस बनाएको राणाले आरोप लगाए। अहिले आएर नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले पनि कुनै आशा सञ्चार गर्न नसकेको टिप्पणी पनि गरे।