“चन्द्रमा पनि एउटा भूगोल हो तर चन्द्रमाको कुनै राष्ट्रियता छैन । किनकि त्यहाँ मानिस बस्दै बस्दैन ।”
मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ३०, शनिवार
सयौं थुंगा फुलका हामी एउटै माला नेपाली’ र ‘सार्वभौम भई फैलिएको मेचि महाकाली’ यो हाम्रो राष्ट्रिय गानले शब्दचित्रमा हाम्रो विविधतालाई पनि देखाउँछ, भाषा संस्कृतिको पनि कुरा गरेको छ । फुलको रुपमा हामीलाई देखाएको छ भने थुंगाको रुपमा समूहलाई देखाएको छ । यो एउटा सिम्बोलिक हो । तर फुल त फुल्छ झर्नका लागि । फुल त सुक्न सक्छ नि र फुल सुक्यो भने मालाको धागो मात्रै रहन्छ अर्थात् भूगोल मात्रै रहन्छ ।
राष्ट्रियता जनतामा हुन्छ, भूगोलमा होइन । चन्द्रमा पनि एउटा भूगोल हो तर चन्द्रमाको कुनै राष्ट्रियता छैन । किनकि त्यहाँ मानिस बस्दै बस्दैन । हाम्रो जुन विविधता छ, त्यहीं विविधता सम्बोधनका लागि हामीले समावेशी लोकतन्त्रको कुरा गरयौं । त्यसैका लागि हामीले संघर्ष गर्दै आएका छौं कि जो बहिगर्मनमा परेका छन्, उनीहरुलाई समानताको अनुभूति होस् । जनआन्दोलनको समयमा ऐतिहासिक रुपमा जात, क्षेत्र, भाषा, संस्कृति, लैंगिक लगायतका आधारमा विभेद हुँदै आएको थियो, त्यो विभेदको अन्त्य गर्न कसरी राज्यको पुनर्संरचना गर्न सकिन्छ । राज्यको पुनर्संरचना कसरी गर्ने हो, पहिचानको आधारमा विभेद भइरहेको छ । त्यसै कारण राज्यको संरचना पनि पहिचानको आधारमा हुनुपर्ने हामीले नारा लगाएका थियौं, पहिचानसहितको संघ । तर, त्यो भएन ।
अहिलेको संघ पहिचानको आधारमा भएको छैन । जनआन्दोलनको जुन एजेण्डा थियो त्यो एजेण्डा सम्बोधन गर्न अन्तरिम संविधान बनेको थियो । अन्तरिम संविधानको प्रस्तावनामै भनिएको छ कि सबैको सहमतिमा राजनीतिक शक्तिले संविधानको निर्माण गर्नेछ । तर हाम्रो सहमति त त्यसमा थिएन ।
किनकि जुन अधिकार अन्तरिम संविधानले दिएको थियो त्यो अधिकारलाई कतिपय मान्छेका कारण राखिएन । यो संविधानमा धेरै त्रुटिहरु छन् । अहिले जुन संकट देशमा आएका छन्, त्यसको एक कारण हो कि हाम्रो त्रुटिपूर्ण संविधान हो । जुन धारा (७६) अहिले कार्यान्वयनको अवस्थामा छ, त्यसका कारण अहिले मुलुकमा संकट आएको छ ।
यो कस्तो सरकार हो कि गठन भएको महिना दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । तानातान छ । अहिले महामारी छ विश्वव्यापीरुपमा, त्यसबाट पनि हामी पीडित छौं । सरकारको कामकाजले पनि जुन कुरा हुनुपर्ने हो, त्यो भइरहेको छैन । जसले गर्दा संक्रमितको संख्या बढ्दै गएको छ, क्षति हुँदै गएको छ । सरकार गैरजिम्मेवार देखिएको छ । अहिले यो सरकारका लागि जनता केही छैन ।
जनता कहीं बाढीले पीडित छन्, कहीं भूकम्पले पीडित छन्, महामारीले त सारा विश्व नै पीडित छ । विभिन्न देशहरुले यसमा सहयोग पनि गरेका छन् तर सरकारले आफ्नो तर्फबाट केही गरिरहेको छैन । हामी अरुमा नै निर्भर छौं । बेरोजगारी बढेको छ । पहिला पहाडका मानिसहरु वैदेशिक रोजगारीका लागि बढी जान्थे तर अहिले मधेशबाट जानेको संख्या बढी छन् ।
हाम्रो जुन संघर्ष छ, त्यहीं माग र मुद्दाका लागि हो । किन हामी बारम्बार ती माग र मुद्दा उठाइरहेका छौं ? जब मानिस भोका र नांगा हुन्छन्, जब अधिकारविहीन रहन्छन् तब अधिकारको कुरा गर्छ, गर्छ । हामी यसैका लागि आन्दोलन गरेका थियौं । यसैगरी, स्थानीय, प्रदेश र संघीय संसदमा जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्ने भन्ने हाम्रो माग हो । यही माग र मुद्दा राखेर हामीले आन्दोलन गरेका थियौं तर सम्बोधन भइरहेको छैन । त्यसका लागि केपी शर्मा ओलीको सरकारले एउटा कार्यदल पनि बनाएको थियो तर त्यो सरकार अपदस्त भयो ।
त्यसपछि हाम्रो नागरिकतासम्बन्धी माग थियो । जब नागरिकताको कुरा उठ्छ भने मधेशीतिर औंला ठड्याइन्छ । मधेशीहरुले गैरनेपालीलाई नागरिकता दिलाउनका लागि राजनीतिक गरिरहेका छन् भन्ने आरोप लाग्छन् । तर नागरिकता समस्या समग्र देशकै समस्या हो, मात्र मधेशको समस्या होइन । जसले नागरिकता पाएका छैनन्, राज्यसँग उसको कुनै सम्बन्ध छैन । उसको अस्तित्व हुँदैन ।
एकचोटि सर्वदलीय बैठकमा नागरिकतामाथि चर्चा चलिरहेको थियो, अनि मैले प्रश्न उठाएको थिए कि हामी भन्छौं गौतम बुद्ध हाम्रो हो । तर गौतम बुद्ध एउटा राजाका छोरा थिए, उसको पीताको राज्य थियो ।
वर्तमान सन्दर्भमा कुन आधारमा हामी भन्छौं कि गौतम नेपालका थिए ? किनकि वर्तमान नेपालको जुन नक्सा छ, त्यस आधारमा गौतम बुद्ध नेपालका थिए । तर उसको छोरा यदि नागरिकता माग्न आए भने हाम्रो सरकारले भन्छ कि बुद्ध त सन्यासी भएर विदेश गए । उसको नागरिकता ल्याऊ अनि नागरिकता दिन्छु ।
अब कहाँबाट उसको नागरिकता ल्याउने ? त्यसै पनि सन्यासीको नागरिकता हुँदैन । भनेपछि कपिलवस्तुका नागरिकले नागरिकता पाउने कि नपाउने ?
(जसपा बागमती प्रदेशले शनिबार काठमाडौंमा आयोजना गरेको नेता कार्यकर्ता भेला कार्यक्रममा अध्यक्ष महन्थ ठाकुरले गरेको सम्बोधनका अंश)