मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २६, मंगलवार
कर्णालीका जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे बस्तीमा यसै महिनामा तीन जनाको मृत्यु भएको छ ।
एक हप्ताको फरकमा २८ वर्षीय मानसिंह र ३१ वर्षीय दलबहादुर शाहीको मृत्यु भएको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले जानकारी दिनुभयो । सुर्खेतको गुर्भाकोटस्थित कालीमाटी गाउँपालिकाबाट सल्यानको काल्चेखोलामा उनीहरू सरेका थिए । दुबैको मृत्यु भएपछि परम्पराअनुसार दाहसंस्कार गरिएको थियोे ।
परम्पराअनुसार मान्छे मर्दा ठाउँ सर्ने राउटे सोही गाउँपालिकाको काल्चेखोला नजिक सरेका हुन् । यसअघि गुर्भाकोट गाउँपालिकाको आँपसोतीमा रहँदा एक बालिकाको मृत्यु भएको थियो । तीनैजनको मृत्युपछि अहिले उनीहरूको संख्या १४० रहेको प्रहरी नायब उपरीक्षक थापाले उल्लेख गर्नुभयो ।
मृत्युको खबर पाएपछि सुर्खेतस्थित जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेसहितको टोलीले सोमबार बस्तीमै पुगेर ५० जनाभन्दा बढीको स्वास्थ्य जाँच गरेको थियो तर अन्य कतिपयले भने जचाउन आएका थिएनन् ।
“बस्तीमा पुग्दा धेरै बालबालिका कुपोषित भएको पाइयो । त्यो समुदायमा घाउचोट लागेका बिरामी धेरै रहेछन्”, उहाँले भन्नुभयो, “बालबालिकालाई जुकाको औषधि खुवायौँ । मदिरा, छाला र उच्च रक्तचापसम्बन्धी रोगी बढी थिए ।” जनस्वास्थ्य प्रमुख वाग्लेका अनुसार राउटेलाई सहयोग गर्दै आएको गैरसरकारी संस्था सोसेकको सहयोगमा केही औषधि उपलब्ध गराइएको र थप औषधि पछि पठाइनेछ । रासस