“सर्लाहीमा १५ स्थानीय तहको अडिट गर्दा ५ जनाको
भागमा ५४ लाख घुस”

कृष्ण सिंह, सर्लाही । २०७८ साउन २४, आइतवार

सरकारी खर्च अनुशासन जाँच गर्ने महालेखाका अडिटरहरुले अधिकारको दुरुपयोग गर्दै सरकारी कार्यालयबाटै खुलेआम घुस असुली बढाएका छन् ।

महालेखाका ५ जना कर्मचारीले लेखापरीक्षणका क्रममा सर्लाहीबाट मात्र ५४ लाख घुस असुल गरेका छन्। त्यो पनि सरकारी कार्यालयको लेखापरीक्षणमा अनुचित खर्चको हिसाब मिलान गरिदिएबापत । यसरी महालेखाका अधिकाशं कर्मचारीले लेखापरीक्षणमा जाँदा घुस अंकमा केन्द्रित हुने गरेको भेटिन्छ ।

सरकारी कार्यालयसँगै खुलम खुला घुस असुली गरेर काठमाडौँ फर्किएका महालेखाका अडिटरहरु अन्तिम लेखापरीक्षणको वार्षिक प्रतिवेदन तयार गर्न व्यस्त छन् । महालेखाले साउन मसान्तसम्म वार्षिक प्रतिवेदन तयार गरेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने तयारी गरेको छ ।

यस वर्ष सर्लाहीको स्थानीय तहको खर्च जाँच गर्न महालेखाको तर्फबाट गएका ५ जना कर्मचारीले आर्थिक हिनामिना मिलाइदिएबापत ५४ लाख घुस बुझेर काठमाडौँ फर्किएका छन् । उनीहरुले नगरपालिकाबाट ५ लाख र गाउँपालिकाबाट २ लाखका दरले घुस बुझेर फर्किएका हुन्। सर्लाहीमा बोधराज अर्याल र कृष्ण पौडेल नेतृत्वमा दुई वटा लेखापरीक्षण टोली खटिएको थियो । यो दुई टोलीले स्थानीय तहबाट २ देखि ५ लाखसम्म घुस लिएर लेखा परीक्षण गरेको भेटिएको हो ।

निर्देशक अर्याल नेतृत्वमा तुलाराम पोखरेल र देवीलाल यादव थिए। यो टोलीले बैशाख ३ गतेबाट मलंगवास्थित कुसुम होटलमा बसेर कविलासी नगरपालिका, बसबरिया गाउँपालिका, विष्णु गाउँपालिका, हरिपूर्वा नगरपालिका र मलंगवा नगरपालिकाको लेखापरीक्षण गरेको थियो । यि टोलीले लेखापरीक्षण प्रतिवेदनमा आर्थिक अनियमितता भएको खर्च मिलाएर बेरुजु, असुली कम गरिदिएवापत नगरपालिकाबाट ५ लाख र गाउँपालिकाबाट २ लाखका दरले घुस रकम संकलन गरेर फर्किएको हो ।

यस्तै जिल्लामा बस्दाको खानपान र बसोबास खर्च पनि स्थानीय तहलाई व्यहोर्न लगाएको थियो। सर्लाहीमा ८ नगरपालिका र ७ गाउँपालिका छन् ।यस्तै यस बर्ष निर्देशक राजेन्द्र ओझा सहितको चार जनाको टोली लेखापरीक्षणका लागि उदयपुर पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *