मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २४, आइतवार
बालाजु औद्योगिक क्षेत्रमा लागेको आगलागी नियन्त्रणमा आएको छ। शुक्रवार रातिदेखि औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट उद्योगमा आगलागी भएको थियो। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार आगलागी नियन्त्रणमा लिनका लागि दमकल र हेलिकप्टरको प्रयोग गरिएको थियो।
नेपाली सेनाको बालाजुस्थित श्री नं१ बाहिनी अड्डाका सहायक बाहिनीपतिको कमाण्डमा १२८ जना जनशक्ति २ वटा दमकलसहित आगलागी नियन्त्रणको लागि परिचालन गरिएको थियो। सेनाका अनुसार आगलागी फैलिन नदिन नेपाली सेनाको उद्धार टोलीद्वारा एउटा ट्रस घर भत्काएको छ।
नेपाली सेनाको दमकलसहित ८ वटा दमकल र सिम्रिक एयरको हेलिकप्टरसमेत प्रयोग गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत स्थानीयवासीहरुको संयुक्त प्रयासमा आगलागी पुर्ण रुपमा नियन्त्रणमा लिइएको हो। आगलागीबाट नेबिको बिस्कुट कारखानाको ४ वटा ब्लकमा क्षति पुगेको छ भने अन्य क्षतिको विवरण आउन बाँकी रहेको सेनाले जनाएको छ ।
पछिल्लो समय आगलागी नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग बढ्दै गएको छ। यसअघिसमेत सिम्रिक एयरले देशका विभिन्न ठाउँमा लागेको आगो हेलिकप्टरको सहायतामा निभाएको थियो। आगो निभाउन हेलिकोप्टरले रानीपोखरी र माछापोखरीबाट पानी लगेको बताइएको छ। आगलागीको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।