मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २३, शनिवार

महोत्तरीका एकै परिवारका दाजु र बहिनीले एकै शैक्षिक सत्रमा चिकित्सा शास्त्र अध्ययन गर्नका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । मेडिकल साइन्सअन्तर्गत एमबीबीएस अध्ययन गर्नका लागि आइओएमले लिएको प्रवेश परीक्षामा दाजुबहिनीले नै नाम निकालेका हुन् ।

महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर-६ गोरिगम्मा गाउँका जीतेन्द्र पासवानका छोरा अभयकुमार र छोरी कृतिकालेले नाम निकाल्न सफल भएका छन् । अभयले दोस्रोपटकको प्रयत्नमा नाम निकालेको भएपनि बहिनी कृतिकाले पहिलोपटको परीक्षामै नाम निकाल्न सफल भएकी छन्।

अभयले १४५ स्कोर ल्याएर मधेशी दलित कोटातर्फको आरक्षण समूहमा पहिलो स्थान ल्याउन सफल भएका छन् भने उनको बहिनी कृतिकाले १२२ स्कोर ल्याएर मधेशी दलित महिलातर्फ चौथो स्थान र समग्र दलित कोटातर्फ सातौँ स्थानमा नाम निकाल्न सफल भएकी छन् ।

दुवै जनाले महोत्तरीको मनरा शिसवा गाउँपालिकाको सरकारी स्कूल सहस्राम माविबाट एसईई उत्तीर्ण गरेका हुन् अभयले २०७२ सालमा एसईई ‘बी प्लस’ ग्रेडमा उत्तीर्ण गरेका थिए भने बहिनी कृतिकाले २०७४ सालमा सोही विद्यालयबाट ‘ए’ ग्रेड ल्याएर एसईई उत्तीर्ण गरेकी थिइन् ।

अभयले त्यसपछि काठमाडौंको गोल्डेन गेट कलेजबाट टेन प्लस टु २०७५ सालमा उत्तीर्ण गरेका थिए । उनले प्लस टुमा ‘बी’ ग्रेड ल्याएका थिए। त्यसैगरी कृतिका पनि २०७७ मा सोही कलेजबाट ‘ए’ ग्रेड ल्याएर प्लस टू उत्तीर्ण गरेकी थिइन् ।

अभयले पहिलोपटक जाँच दिँदा पनि दलित कोटामा नाम निस्किएको थियो तर त्यति बेला बिन समुदायलाई पनि दलित कोटामा राखिएको हुनाले उनको नाम पर्न नसकेको अभयका बुवा जीतेन्द्र पासवान बताउँछन् । तर अहिले बिन जातिलाई दलित समुदायबाट हटाइएको उनले बताए।

‘अहिले जसरी बिन जातिलाई दलित समुदायको कोटाबाट हटाइएको छ त्यस आधारमा गत वर्ष नै मेरो छोरा अभयले एमबीबीएस पढ्न पाउँथ्यो,’ जीतेन्द्रले भने, ‘खैर, एक वर्ष थप मेहनत गरेर यो पटक ब्याजसहित छोराको साथमा छोरीले पनि नाम निकालेर हाम्रो सपना साकार पारेका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *