मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २२, शुक्रवार
चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षामा धनुषाका आशिक झा सर्वोत्कृष्ट भएका छन् । शुक्रबार सार्वजनिक भएको नतिजाअनुसार २ सय पूर्णांकमा झाले उत्कृष्ट १ सय ८६ अंक प्राप्त गर्दै सरकारले प्रदान गर्ने पूर्ण छात्रवृत्ति पाएका छन् ।
देशभरिबाट ११ हजार प्रतिस्पर्धीलाई उछिन्दै झा सर्वोत्कृष्ट बनेका हुन्। आयोगले पहिलो पटक एमबीबीएसका निम्ति एकीकृत परीक्षा लिएको हो। यसअघि विश्वविद्यालयपिच्छे फरक–फरक परीक्षा लिइन्थ्यो। त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयबाट विज्ञान विषय कक्षा ११ र १२ लिएर पढेका झाले २०७७ सालको ब्याचमा उत्कृष्ट अंक लिएर उत्तीर्ण गरेका थिए। त्यसलगत्तै एमबीबएीस अध्ययनका निम्ति लिइएको प्रवेश परीक्षामा पहिलो पटकमै उत्कृष्ट बनेका हुन्।
जनकपुरको श्री माध्यमिक विद्यालयबाट ३ दशमलव ७ जीपीएसहित उनले एसईई उत्तीर्ण गरेका थिए। राम्रो गर्छु तर सर्वोत्कृष्ट नै हुन्छु भनेर नसोचेको भनाइ छ । भावी उद्देश्यबारे उनले भने, ‘यो अवसरलाई म समाजका निम्ति केही योगदान गर्ने लक्ष्यमा बदल्न चाहन्छु।’