मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २१, बिहीवार
पूर्वयुवराज पारश शाह पहिलोपटक बिगत ३ महिना देखि निर्मल निवासमा बस्दै आएका छन भने पुर्व युवराज्ञी हिमानी बैंककमा छिन् ।
तीन वर्षअघि थाइल्यान्डबाट नेपाल फर्केयता कहिले कुण्डलिनी, कहिले हरिसिद्धि र बानेश्वरको थापागाउँ त कहिले पोखरा बस्ने गरेका पूर्वयुवराज पारस पछिल्लो तीन महिनादेखि निर्मल निवासमा बस्दै आएको छ । उहाँकी पत्नी पूर्वयुवराज्ञी हिमानी शाह दुई छोरीको हेरचाह गर्न थाइल्यान्ड बसेको मौका छोपेर पूर्वयुवराज पारस निर्मल निवास बस्न थालेको हो ।
पूर्वरानी कोमल शाह पनि कोरोनामुक्त भएर डिस्चार्ज भएपछि निर्मल निवासमै छ । बिरामी आमाको रेखदेख गर्न भन्दै पारस पनि निर्मल निवासमै बस्न थालेको निर्मल निवास स्रोतले बताएको छ । बुबा पूर्वराजा ज्ञानेन्द्र शाहकै कारण यसअघि निर्मल निवास नबसेका पारस यसपटक भने छोरा हृदयेन्द्रसँगै आमा कोमल र बुबा ज्ञानेन्द्रसँग दिन बिताउने गरेको बताइएको छ ।
‘हिमानी कोरोना महामारीका कारण थाइल्याडमा रहेकोले पारस निर्मल निवासमा बस्दै आएको छ । नेपाल फर्केपछि पारश परिवारसँग यति लामो समय सँगै बसेको देखिएको थिएन । अहिले तीन महिना भइसकेको छ’ – निर्मल निवासका एक कर्मचारीले बताए ।
करिब तीन महिनादेखि आफ्ना छोरीहरू पूर्णिका र कीर्तिकासँगै थाइल्यान्डमा बसिरहेकी पूर्वयुवराज्ञी हिमानी उतै अड्किएको छ । नेपालमा कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेपछि थाइल्यान्डले नेपालको उडानमा केही समयका लागि रोक लगाएका कारण उनि थाइल्यान्डमै अड्किएको हो ।
थाइल्यान्डमै बस्ने गरी नेपाल छाडेका पारस महिला काण्डमा विवादित भएपछि ३ वर्षअघि नेपाल फर्किएको हो । बेलाबेलामा विभिन्न धार्मिक गतिविधिमा सहभागी हुने पारस उपत्यका बाहिर पनि विभिन्न मठमन्दिरमा दर्शनका लागि जाने गर्दछन । पछिल्लो समयमा लामो समय निर्मल निवासमा बसिरहेको भए पनि विवादमा फसिरहने पुरानो बानीमा भने खासै सुधार आएको देखिएको छैन ।
करिब एक साताअघि नारायणगोपाल चोकमा हेल्मेटबिना नै मोटरसाइकल चलाएको अवस्थामा ट्राफिक प्रहरीले रोकेपछि पारश र ट्राफिक प्रहरीबीच बहस भएको थियो ।