मुलुक डेस्क, साउन २०, २०७८ | राजविराज
उपाध्यक्षले दिएको धम्कीको कारण आन्दोलनमा होमिएका तिलाठी कोइलाडी गाउँपालिकाका कर्मचारीहरुले बुधबार कार्यालयको कामकाज ठप्प पारेका छन् । गाउँपालिकाका उपाध्यक्ष सुचिता कुमारी यादवले प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झासहितका कर्मचारीलाई मंगलबार आफ्नो कार्यकक्षमा बोलाई कामकाज नगर्नुस् कामकाज गरेमा हातपात गर्ने भनी दिएको धम्कीप्रति आपत्ति जनाउँदै कर्मचारीहरु बुधबारदेखि आन्दोलित भएका हुन् ।
उपाध्यक्ष यादवले माफी नमागे आन्दोलन जारी रहने बताइएको छ । यसैबीच बुधबार गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह तथा वडा अध्यक्षहरुको उपस्थितिमा आन्दोलित कर्मचारीहरुसँ छलफल भएको छ । छलफलको क्रममा वडा नं. १ का वडा अध्यक्ष दिनेश्वर मिश्रलाई उपाध्यक्ष यादवसँग समन्वय तथा सहजीकरण गर्न जनप्रतिनिधीहरुले जिम्मेवारी दिएको कर्मचारी युनियनका अध्यक्ष रामप्रसाद सिंहले बताए ।
उपाध्यक्ष यादवले माग गरेको विवरणहरुको सम्बन्धमा कुराकानी भईरहँदा प्रमुख प्रशासकीय अधिकृत झालाई बुधबारदेखि काम नगर्न तथा गरेमा आफूले हातपात गर्ने भनी धम्की दिएकी थिइन् । गत बर्षपनि उपाध्यक्ष यादव र निजका श्रीमान शिवनाथ यादवले गाउँपालिकाका सह लेखापाललाई हातखुट्टा काटिदिने धम्की दिएका थिए ।
सो धम्कीको विरोधमा कर्मचारीहरुले कामकाज ठप्प पार्दा अध्यक्ष सहितका जनप्रतिनिधीहरुको बैठकमा आफूले धम्की दिएर ठिक गरेको र माफी नमाग्ने भन्दै बैठक छोडेर बाहिरिएकी थिइन् ।
उपाध्यक्ष यादवले गत विगतमा पनि कर्मचारीलाई समय समयमा धम्की दिंदै आएको र कर्मचारीहरु माथि हातपात समेत गरेको हुँदा निज उपाध्यक्ष यादवले माफी नमागेसम्म तथा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म कार्यालयमा कामकाज गर्ने अवस्था नरहेको भन्दै शान्ति सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालय सप्तरीलाई समेत पत्राचार गरिएको कर्मचारी युनियनका अध्यक्ष रामप्रसाद सिंहले बताए ।
उपाध्यक्ष यादवको धम्कीका बारेमा मूख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र जिल्ला समन्वय समिति सप्तरीमा समेत जानकारी गराइएको छ ।