How to develop an enterprising mind-set - Rebecca Jones

हेमलता सुवेदी(खनाल), २०७८ साउन १६

देशको आर्थिक विकासको महत्वपूर्ण मापन सूचक उद्यमशीलता जसको विकासद्वारा देशका जनताको आर्थिक उन्नती सम्भब हुने र विकासका आधारभूत क्षेत्रहरु जस्तै सामाजिक,आर्थिक ,सांस्कृतिक, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि र वन आदि सम्पूर्ण पक्षको विकासमा आर्थिक विकासले मात्र सन्तुलन आउनाले निश्चयनै उद्यमशीलता आफैमा महत्वपूर्ण र बृहत छ ।

सामान्यतया उद्यमशीलता भन्नाले कुनै ब्यक्ति विशेषले आर्थिक आय आर्जनकालागि आफ्नो ज्ञान सीपको प्रयोग गरेर उद्योग धन्दा , ब्यापार, ब्यवसाय संचालन गर्ने क्र्रममा आईपर्ने जोखिम बहन गर्न सक्नुलाई बुझाउछ । आर्थिक विकासको परिपुरक उद्यमशीलताको विकासकालागि निश्चयनै दक्ष जनशक्ति र भौतिक पूर्वाधारको सहि रुपमा उपयोग र परिचालन हुन आवश्यक छ ।

वर्तमान समयमा हाम्रो देश नेपालमा पनि जनताको जीवन स्तर उकास्न र उद्यमशीलताको विकासकालागि बिभिन्न ब्यवसायमुलक शिक्षा र सीपमुलक तालीम दिने कार्यक्रमहरु जोड तोडका साथ चलि रहेका छन् । वास्तवमा यस्ता तालीमहरुबाट लक्षित वर्ग समुदायहरु लाभान्वित हुन सकेका छन् र व्यवहारमा प्रयोग गरेका छन् कि छैनन भन्ने कुराको सम्बन्धित निकायले सहि रुपमा अनुगमन र ध्यान पुर्‍याउन आवश्यक छ ।

कुनै पनि क्षेत्र अथवा स्थानीय तहमा व्यवसायिक शिक्षा तालीम दिनु भन्दा पहिले त्यस क्षेत्रको माग, श्रोत साधनको उपलब्ध अनुसार तालीमको प्राथमिकतामा ध्यान पुर्‍याउन सकियो भने व्यवसायिक शिक्षा तालीमले उद्यमी बन्नकालागि युवाहरुलाई अझ बढि प्रोत्साहित गर्न सक्छ ।

कुनै ठाउँको माग भन्दा तालीम लिनेको संख्या बढि भएर त्यसको बजार व्यवस्थापनमा अभाव र सीपमुलक तालीम र व्यवसायिक शिक्षाको प्रभावकारिताका लागि प्रचुर मात्रामा प्रचार प्रसार, त्यस क्षेत्रको आवश्यकताको अध्ययन एंव उद्योगहरुसग तालमेल मिलाएर रोजगार दिने वातावरण मिलाउन सकियो भने यस्तो किसिमको शिक्षाको महत्व बढ्न जान्छ ।

व्यवसायिक शिक्षा अन्तर्गतको प्राविधिक शिक्षा बाट दक्ष जनशक्तिहरुको उत्पादन हुनाले उद्योग संचालनकोलागि बलियो आधार सक्ष्म प्राविधिकहरु नेपालमै उपलब्ध हुन सक्छन् जसका लागि बाहिरी जनशक्तिको भर पर्नु पर्दैन । यसको लागि राज्यले दुरदराजका जिल्लाहरुमा पनि प्रचुरमात्रामा प्रचार प्रसार तथा स्थानीय तहको आवश्यकता अनुसारको तालीमहरु संचालन गर्नकालागि उचित बजेट तथा निति कार्यक्रमको तर्जुमा, भौतिक संरचनाहरुको निर्माण गर्न आवश्यक छ साथै सीपमुलक तालीमहरु दिदा पनि निर्देशित संघ संस्थाहरुले संख्यात्मक भन्दा गुणात्मक सिकाईमा ध्यान दिन आवश्यक छ, यहाँ कतिपय ठाउँमा तालीम दिने संस्थाहरु केवल नाफामुखी उद्येश्यले तालीम चलाउदा सिकाई गुणस्तर र प्रभावकारी हुन सकेको छैन ।

वर्तमान समयमा धेरै जसो सीपमुलक तालीमको नाममा कुनै क्षेत्रको माग र आवश्यकताको अध्ययन बिनानै पैसा कमाउने उद्येश्यले एउटै कार्यक्रममा बारम्बार बजेट निकासा हुनु ढुकुटी रित्याउने काम मात्र हुने र उपलब्धिहिन तालीम दिने काम मात्र पनि भईराखेको छ । भ्रष्टाचार , राजनितिक, अपारदर्शिता, प्रचार प्रसारको अभाव आदि कारणले गर्दा सीपमुलक तालीमप्रतिको आकर्षण जनमानसमा कम हुदै गएको छ जुन कुरा प्रति सम्बन्धित निकाय र निति निर्माताहरु सजग हुन आवश्यक छ ।

हुन त CTEVT बाट संचालित व्यवसायीक मुलक प्राविधिक शिक्षा बाट धेरै बिद्यार्थीहरु लाभान्वित भएका छन् तापनि सशक्त र सफल कार्यान्वयनका लागि सम्बन्धित संघ संस्था र राज्यले ध्यान पुर्‍याउन आवश्यक छ ।

उद्योग मन्त्रालयको २०१७ को तथ्याङ्क अनुसार साना ठूला लघु ,घरेलु र परम्परागत गरी ९० प्रतिशत भन्दा बढि उद्योगहरु नेपालमा संचालित छन् । यस्ता उद्योगहरुको संचालनबाट हाम्रो जस्तो विकासशील देशका लागि आर्थिक गतिविधि बढाउन र उद्यमशीलताको विकासकालागि निश्चयनै सशक्त आधार हो जसले गर्दा विकासको खुड्किलो अवश्य पनि माथी उक्लिदै जानेछ ।

वर्तमान समयमा कोभिड जस्तो महामारी रोगले उद्योग व्यवसायलाई प्रभाव पारिराखेको छुटै विषय वस्तु भएता पनि यसले आउदो समयमा आर्थिक विकासमाथि पार्न सक्ने असरको बारेमा पनि राज्य र उद्यमीहरु पनि सजग रहन जरुरी छ । केन्द्र लगायत विभिन्न जिल्लाका युवाहरु व्यवसायिक शिक्षाबाट लाभान्वित भएर विभिन्न उद्यमहरु गरिरहेका छन् यस्ता धेरै उदाहरणहरु छन् जसबाट अवश्य पनि उद्यमशीलताको विकासको अवस्था उकालो लाग्दै गएको र आर्थिक चलायमान बढ्दै गएको कुरालाई नकार्न सकिन्न ।

विकासशील देशहरुमा आर्थिक गतिविधी बढाउनका लागि घरेलु, परम्परागत ,लघु उद्योगहरुले महत्वपूर्ण भूमिका खेल्नाले कतिको सहजता छ ? उद्यमशीलताको विकासकालागि विश्व बैंकले २०२० मा १९० वटा देशको सर्वेक्षण गरी प्रकाशित गरेको प्रतिवेदनमा सूचाङ्क अनुसार नेपालको स्थिती १९० वटा देश बीचमा नेपाल पहिलेको ११६ स्थानबाट माथी ९४ स्थानमा आई पुगेकोले पनि उद्यमशीलताको विकास क्रमिकरुपमा सुधारोन्मुख अवस्थामा रहेको देखिएको थियो ।

राज्यबाट विशेष रणनिती ,कार्ययोजना बनाएर विभिन्न व्यवसायमुलक कार्यक्रम, तालीमहरु संचालन गरियो भने अवश्यनै विकासको मेरुदण्ड आर्थिक विकासलाई अझ सशक्त र सबल बनाउनमा उद्यमशीलताको अहम भूमिका हुने र देशको आर्थिक गतिविधि द्रुत गतिमा अगाडि बढ्न सक्ने कुरामा दुईमत हुने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *