May be an image of text that says 'नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग लाजिम्पाट, काठमाडी'

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १५, शुक्रवार

आर्थिक वर्ष २०७७/०७८ मा एक अर्ब वा सोभन्दा बढी राजस्व बुझाउने करदाताको संख्या थपिएको छ । विगत दुई वर्षमा कोरोना नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउन तथा निषेधाज्ञाका कारण अर्थतन्त्रमा ठूलो धक्का लागे पनि करको रुपमा ठूलो रकम तिर्नेको संख्या थपिएको हो ।यस्तै, आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब वा सोभन्दा बढी कर तिर्नेहरुको संख्या ५१ रहेकोमा गत आर्थिक वर्षमा सो संख्या बढेर ५६ पुगेको आन्तरिक राजस्व विभागले जनाएको छ ।

आन्तरिक राजस्व विभागको विगत ४ वर्षको तथ्यांकका अनुसार करदाताको संख्या पनि थपिएको छ । आर्थिक वर्ष २०७४/७५ मा ४० जना करदाताले अर्ब वा सो भन्दा बढीको कर बुझाएकोमा आर्थिक वर्ष २०७५/७६ मा सो संख्या वृद्धि भएर ५९ पुगेको थियो ।त्यस्तै विगत ४ वर्षमा १ करोड वा सो भन्दा बढी कर तिर्ने करदाताको संख्या पनि ह्वात्तै बढेको देखिन्छ ।

आर्थिक वर्ष ०७४/७५ मा १ हजार ६ सय ४५ जनाले १ करोड भन्दा बढीको कर बुझाएका थिए भने आर्थिक वर्ष ०७५/७६ मा आइपुग्दा सो संख्या बढेर २ हजार ३४ पुग्यो । तर, कोरोनाको पहिलो लहरको समय अर्थात आर्थिक वर्ष २०७६/७७ मा समेत एक करोड वा सो भन्दा बढीको कर बुझाउने करदाताको संख्या २ सय ६ जनाले बढेर २ हजार २ सय ४० पुगेको विभागले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको सुरुवाती महिनामा पनि कोरोनाको असर देखिएको थियो । सो असर कोरोनाको दोस्रो लहर आउँदा पनि देखियो । पुनः वैशाखबाट देशका विभिन्न ठाउँमा निशेधाज्ञा गरियो । तर पनि १ करोड वा सो भन्दा बढी कर बुझउने करदाताको संख्या बढेको छ । गत आर्थिक वर्षमा सो संख्या ४ सय ३० जनाले बढेर २ हजार ६ सय ७० पुगेको आन्तरिक राजस्व विभागले जनाएको छ ।

यसरी ठूला करदाताहरुको संख्या बढ्नुको पहिलो कारण मुद्रास्फीति रहेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डे बताउँछन् । ‘पहिलो कुरा त पैसाको मूल्य नै घटेको छ,’ उनी भन्छन्, ‘त्यसकारण पहिला ८०(९० लाख तिर्ने करदाताले पछिल्लो समय १ करोडभन्दा माथि तिर्न थाले । त्यसले पनि संख्या बढाएको हो ।’ ( कारोबार दैनिक )

Leave a Reply

Your email address will not be published. Required fields are marked *