May be an image of 1 person and sitting

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १५, शुक्रवार

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शैक्षिक संस्था सञ्चालनका विषयमा विषयविज्ञ र सम्बद्ध निकायसँग बिहीबार छलफल गरेको छ । सहसचिव तथा सीसीएमसीका प्रवक्ता नूरहरि खतिवडाले सीसीएमसीका संयोजक बालानन्द शर्माको अध्यक्षतामा बसेको बैठकमा शिक्षासम्बन्धी संस्था, विषयविज्ञ र सम्बद्ध निकायसँग शैक्षिक संस्था सञ्चालनको सम्भावनाका विषयमा छलफल गरिएको जानकारी दिए ।

बैठकमा शैक्षिक संस्था बन्द गरेर मात्रै समस्या समाधान नहुने भएकाले भौगोलिक परिस्थिति, सङ्क्रमणको अवस्था हेरेर स्थानीय निकायलाई नै शैक्षिक संस्था खोल्ने विषयमा निर्णयको अधिकार दिनुपर्ने सुझाव शैक्षिक संस्थाका प्रतिनिधिहरूले दिएका थिए ।

May be an image of indoor

प्रवक्ता खतिवडाले भने, “विद्यार्थी र मुलुकको भविष्यसमेत गाँसिएको शिक्षा क्षेत्रलाई सम्भव भएसम्म खोल्नुपर्ने सुझाव आएका छन् ।” शैक्षिक संस्था बन्द गरेर मात्र समस्या समाधान नहुने भएकाले सरकारले निकास दिनुपर्ने माग शिक्षा व्यवसायीहरूको थियो ।

अनलाइन कक्षाले मात्रै मुलुकका सबै विद्यार्थीलाई समेट्न नसक्ने भएकाले विद्यार्थीको सङ्ख्या, सङ्क्रमणको अवस्थासमेत ख्यालमा राख्दै विद्यालय खोल्न दिनुपर्ने धारणा उनको थियो । छलफलमा विषयविज्ञ, विश्वविद्यालयका प्रतिनिधि, शिक्षा मन्त्रालय, शैक्षिक संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।

( गोरखापत्र )

Leave a Reply

Your email address will not be published. Required fields are marked *