मुलुक डेस्क, पर्सा । २०७८ साउन १२, मंगलबार
वीरगञ्ज-पथलैया व्यापारिक मार्गको काम निर्धारित समयमा सम्पन्न हुन नसकेपछि पुनः समय थप गर्ने तयारी गरिएको छ । २०७३ असार २९ गतेदेखि चालू यो मार्गको निर्माण कार्य २०७८ असार मसान्तसम्म ७८ प्रतिशत मात्र सम्पन्न भएको हो ।
दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।कोरोना महामारीले तथा निषेधाज्ञाले गर्दा जनशक्ति, साधन-स्रोतको अभाव रहेको सडक निर्माणमा विलम्ब भएको निर्माण कम्पनीको भनाइ छ ।
निर्माण सम्पन्न गर्नुपर्ने म्याद पटक–पटक थपिए पनि पछिल्लोपटक थपेको म्याद सक्न लागेपछि फेरि ६ महिना म्याद थप्ने तयारी भइरहेको व्यापारिक मार्ग विस्तार योजना, वीरगञ्ज-पथलैया सडक परियोजना कार्यालय पथलैयाका सूचना अधिकारी सम्पतलाल दासले बताउनुभयो ।पथलैयादेखि सुक्खा बन्दरगाह वीरगञ्जसम्म ३१ किलोमिटर सडक कालोपत्र गर्नुपर्नेमा ७८ प्रतिशत मात्र काम सकिएको हो ।
सडक निर्माणका लागि सातवटा खण्डमा विभाजित गरी निर्माण कम्पनीले ठेक्का सकार गरेका छन् । जसमा परवानीपुरदेखि गण्डक नहरसम्म ३ दशमलभ ९२ किलोमिटर ६० प्रतिशत काम भएको छ । गण्डक नहरदेखि हरपतगंज सुक्खा बन्दरगाहसम्म ३ दशमलब ५० किमिमा ८३ प्रतिशत र हरपतगञ्ज चोकदेखि सुक्खा बन्दरगाहसम्म ३ दशमलब ५० किलोमिटरमा ५६ प्रतिशत मात्रै काम भएको छ ।
यसै गरी, पथलैया चोकदेखि सूर्य नेपाल सिमरासम्म ४ दशमलब ५६ किलोमिटरमा ९४ प्रतिशत काम भएको छ भने सूर्य नेपाल सिमरादेखि सैनिक क्याम्प जितपुरसम्म ५ दशमलब ८० किलोमिटरमा ५१ प्रतिशत मात्रै काम भएको छ ।
सैनिक क्याम्प जितपुरदेखि परवानीपुरसम्म ५ दशमलब १६ किलोमिटर ८० प्रतिशत, परवानीपुरदेखि गण्डक चोक ४ दशमलब २४ किलोमिटरमा ८६ प्रतिशत काम सम्पन्न भएको सडक परियोजनाको कार्यालयले जनाएको छ । निर्माणाधीन वीरगनञ्ज–पथलैया ६ लेन सडकअन्तर्गत पर्ने पुलहरूमध्ये जितपुरस्थित लालका पुलको काम ८८ प्रतिशत सकिएको छ ।
त्यस्तै, परवानीपुरस्थित श्रीसिया पुलको ८४ प्रतिशत, परवानीपुर–सुक्खा बन्दरगाह मार्गमा पर्ने श्रीसिया खोला पुलको ८२ प्रतिशत निर्माण काम पूरा भएको सूचना अधिकारी दासले बताउनुभयो । सो सडकखण्डको काम असार मसान्तमा सिध्याउनका लागि ६ महिनाअघि नै अन्तिमपटकका लागि भन्दै म्याद थप गरिए पनि पुनः फेरि ६ महिना म्याद थपको तयारी गरिएको हो । ( स्रोत: नेपाल समाचारपत्र )