मुलुक डेस्क, जनकपुरधाम । २०७८ साउन १०, आइतबार
गुरुपूर्णिमाको पावन अवसर पारेर विश्व हिन्दू परिषद नेपालले गंगासागरमा सामुहिक रूपमा दुध अर्पण गरेको छ । सनातन हिन्दु धर्मको गरिमा र आस्थालाई कायम राख्दै मानव एवं समस्त जगत कल्याणका लागि यस्तो अनुष्ठान गरिएको विश्व हिन्दू परिषद नेपालका महासचिव जितेन्द्र कुमार सिंहले प्रष्ट पारेका छन् ।
जनकपुरधामस्थित गंगासागरमा सामुहिक दुध अर्पण गरेर विश्व हिन्दू परिषद नेपाल जनकपुरधामका कार्यकर्ताले गुरुपूर्णिमा उत्सव मनाएका हुन् । जलमा दुध अर्पण गर्नु सनातन संस्कार भएको महासचिव सिंहले जनाए ।
शनिबार आयोजित सामुहिक दुध अर्पण कार्यक्रममा विश्व हिन्दू परिषद नेपाल जिल्ला कार्यसमिति धनुषा र वरपरका सयौं कार्यकर्ता, सामाजिक अभियन्ता र सर्वसाधारणको सहभागीता रहेको थियो ।
नदि, ताल, पोखरी वा जलाशयमा दूध अर्पणको विषयलाई लिएर पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गरेको अभद्र टिप्पणीप्रति भर्खरै विश्व हिन्दू परिषद नेपालले उनको कडा आलोचना एवं पुतला दहन गरि बिरोध जनाएको थियो ।