मुलुक डेस्क, पर्सा । २०७८ साउन ९, शनिबार
जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य प्रमोद गुप्तासहित दुई जना जेल चलान भएका छन् । जिल्ला अदालत बारामा बिहीबार हाजिर हुन गएपछि अदालतले प्रहरीलाई खबर गरी उनीहरुलाई वीरगन्ज कारागार चलान गरेको हो । गुप्तासँगै जसपाका स्थानीय नेता अरुण सिंह पनि जेल चलान भएका छन् ।
०७४ सालमा भएको मधेस आन्दोलनका क्रममा कलैया अस्पतालको गाडीमा आगजनी गरेको आरोपमा सोही बेला दुबै जनामाथि बारा प्रहरीले मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दाको सुनुवाइ गर्दै अदालतले ०७४ साल माघ २५ गते फैसला गर्दै आरोपित दुवै जनालाई ६।६ महिना जेल र ९ लाख ८३ हजार ३ सय ३३ रुपैयाँ ३३ पैसा पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको थियो।बिहीबार अदालतमा हाजिर भएका दुवै जनालाई अदालतले जेल चलान गरेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
‘पहिलेकै मुद्दामा सजाय पाएका उहाँहरूलाई बिहीबार अदालतले जेल चलान गरेको हो,’ उनले भने। दुवै जनालाई कैद भुक्तानका लागि पर्साको वीरगञ्ज कारागार कार्यालयमा पठाइएको मिश्रले बताए। जेल चलान भएका गुप्ता बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।मुलुकी ऐन, आगो लगाउने महलको १ र ४ बमोजिम फैसला गरिएको अदालतले जनाएको छ । त्यही कैद सजाय भुक्तान गर्न अदालतले दुबैलाई कारागार पठाएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले अदालतको आदेशमा बिहीबार राति उनीहरुलाई कारागार पठाइएको पुष्टि गरे । गुप्ताले राजनीतिक मुद्दा भन्दै खारेज गराउन पार्टीका अध्यक्ष उपेन्द्र यादवसमक्ष पटक-पटक आग्रह गरेका थिए । गुप्ता बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित थिए । उनी कलैया उपमहानगर पालिका-४ निवासी हुन् भने सिंह फेटा गाउँपालिका बडकी फुलवरिया निवासी हुन् ।