May be an image of one or more people and people standing

मुलुक डेस्क, काठमाडौं । २०८ साउन ९, शनिबार

३२औं गृष्मकालीन टोकियो ओलम्पिक शुक्रबारबाट औपचारिक रूपमा सुरु भएको छ। जापानको राजधानी टोकियोमा एक विशेष कार्यक्रमका बीच टोकियो ओलम्पिकको औपचारिक शुभारम्भ गरिएको हो। उद्घाटन समारोहमा दुई सय पाँच देशका ११ हजारभन्दा बढी खेलाडीले मार्चपास गरेका थिए।

कार्यक्रममा जापानको सांस्कृति, परम्परा, रीतिरिवाज, आर्थिक तथा सम्पन्नता झल्काउने विभिन्न कार्यक्रम प्रस्तुत गरिएको थियो ।टोकियो ओलम्पिक आयोजक कमिटीका अध्यक्ष हासिमोतो सेकोले ओलम्पिक इतिहासमै स्थगनको नजिक पुगिसकेको ओलम्पिक भव्य र सव्य रूपमा आयोजना गर्न पाउँदा खुसी लागेको बताए। ‘ओलम्पिक दोस्रो पटक जापानमा फर्किएको थियो। तर, इतिहासमै पहिलो पटक स्थगनको नजिक पनि पुगेका थियौं’, उनले भने, ‘विभिन्न चुनौतीलाई पार गर्दै हामीले प्रतियोगिताको उद्घाटन गर्न सफल भयौं।

May be an image of 1 person, standing and road

उद्घाटनसँगै हजारौंको आशा, विश्वास र सपना पनि साकार हुँदै जानेछ।’यसैगरी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का अध्यक्ष थोमस बाचले विभिन्न चुनौतीका बाबजुद पनि सबैको आशा र विश्वासको प्रतीक रहेको ओलम्पिक सुरु भएको बताए। ‘आजको दिन आशाको दिन हो। हामी सबैले कल्पना गरेभन्दा भिन्न परिस्थितिमा उद्घाटन समारोह गरिरहेका छौं। तथापि हामी सबै खुसी छौं’, उनले भने, ‘हामी सबै मिलेर यो खुसीलाई अझ विशेष बनाउनु छ। किनभने यो खेलकुदको एकीकृत शक्ति हो। एकजुटताको सन्देश पनि हो।

यसले हामी सबैलाई एकसाथ आगामी यात्राका लागि आशा देखाउने छ।’ टोकियो ओलम्पिकको उद्घाटन सत्रको मार्च पासमा नेपालको झन्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाहले बोकेका थिए। उनीहरूसँगै जुडो खेलाडी सोनिया भट्ट र सुटिङ खेलाडी कल्पना परियारले मार्च पासमा सहभागिता जनाएका थिए। एलेटिक्स खेलाडी सरस्वती चौधरी भने आइतबार मात्रै जापान जाने छिन्। उनी नेपालमै तयारीमा व्यस्त छिन्।नेपाली टोलीको सेफ द मिसनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल छन्। टोकियो ओलम्पिकमा परिषद्बाट बोर्ड सदस्य सुवास श्रेष्ठ र सम्पन्न श्रेष्ठले पनि सहभागी छन्।

No photo description available.

यसैगरी ओलम्पिक कमिटीबाट अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, उपाध्यक्ष सुनीलकुमार श्रेष्ठ, महासचिव नीलेन्द्रराज श्रेष्ठ, सहमहासचिव पीताम्बर तिम्सिना, सचिव तुलसा थापा र सदस्य प्रकाशशमशेर राणा एवं राम अवाले पनि जापान पुगेका छन्। यसैगरी युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, मेडिकलतर्फ डा.नविसमासिंह प्रधान, नेपाली दूतावासका कर्मचारी प्रेम बराल र स्वयम्सेवक रूपेश डंगोलले पनि टोकियो ओलम्पिकमा नेपाली टोलीको प्रतिनिधित्व गरेका छन्।

ओलम्पिक कमिटीका उपाध्यक्ष तथा नेपाल फेन्सिङ संघका अध्यक्ष सुनीलकुमार श्रेष्ठ सुटिङको व्यवस्थापकका रूपमा टोकियो ओलम्पिकमा सहभागी हुनेछन्। पीताम्बरलाई भने एथलेटिक्सको व्यवस्थापकको जिम्मेवारी दिइएको छ। संघीय सांसदसमेत रहेकी कबड्डी संघकी अध्यक्ष तुलसा थापा र तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा जुडोको व्यवस्थापक बनेर टोकियोको सयर गर्दै छन्। टोकियो ओलम्पिकमा सहभागिता जनाउन लागेका पौडी, एथलेटिक्स, सुटिङ र जुडो संघका कोही पनि पदाधिकारी भने जापान जाने टोलीमा परेका छैनन्।

उनीहरूको स्थानमा ओलम्पिक कमिटीका पदाधिकारी व्यवस्थापकका रूपमा जापान पुगेका हुन्। पाँच खेलाडीसहित ३० सदस्यीय नेपाली टोलीले जापानको टिकट काटेकोमा अफिसियलको ओइरो लागेको समाचार बाहिरिएपछि राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङले भने जापान नजाने निर्णय गरेका थिए। टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडीले प्रतिस्पर्धा गर्दै छन्।

सुटिङकी कल्पना परियार, पौडीका गौरिका सिंह र एलेक्स शाह एवं एथलेटिक्सकी सरस्वती चौधरी र जुडोकी सोनिया भट्टले टोकियो ओलम्पिक खेल्दै छन्। पौडी र एथलेटिक्सका खेलाडी अनिवार्य कोटामा ओलम्पिक खेल्न लागेका हुन् भने सोनिया र कल्पनाले वाइल्ड कार्ड पाएका छन्। टोकियो ओलम्पिकमा जुडो खेलाडी सोनिया भट्टले पहिलो चरणमा शनिबार रुसी खेलाडी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने भएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *