मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ७, बिहीबार
एयरपोर्ट स्थित गोल्डेन गेटमा नयाँ ट्राफिक लाईट जडान गरी आजदेखि सञ्चालनमा आएको छ । ट्राफिक महाशाखाले यति र तारा एयरलाइन्स प्रालीसँग सहकार्य गरि नयाँ जडान गरिएको ट्राफिक लाईटको आजै एक कार्यक्रमका वीच महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र यति एयरलाइन्सका सिईओ अनोज रिमालले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
एसएसपी भट्टराईले काठमाडौं उपत्यकालाई सुरक्षित र सभ्य शहरको रुपमा अघि बढाउन, सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन, सवारी व्यवस्थापनमा अझै सहजता ल्याउन चोक चोकमा ट्राफिक लाईट जडानलाई तीव्रता दिएको बताए । प्रबिधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई प्राथमिकता दिएको बताए ।
कार्यक्रममा बोल्दै एयरलाईन्सका तर्फबाट प्रशासन निर्देशक अञ्जन बडगामीले सामाजिक उत्तरदायित्व बहन गर्दै आम सडक प्रयोगकर्तालाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्यालाई ट्राफिक लाईटले सहयोगी भुमिका खेल्ने बताए । उनले काठमाडौं उपत्यकामा भइरहेको सवारी चाप, सडक दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिनुपर्ने धारणा ब्यक्त गरे ।
ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउदै दुर्घटना न्युनिकरणको लागी आगामी दिनहरुमा अन्य चोकहरुमा ट्राफिक लाईट जडानको लागी समन्वय एव सहकार्य गर्दै जाने महाशाखाले जनाएको छ ।