मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ६, बुधबार
नेपाली काङ्ग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा.अमरेश कुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । नेपाली राजनीतिका चतुर खेलाडी नेता सिंह महामानव बीपी कोइरालाको स्मृति दिवसकै दिन राजीनामा दिनुलाई संसयको नजरले पनि हेरिएको छ् ।सर्लाहीमा नेताहरु द्वारा जारी अनशन र धर्नालाई समर्थन जनाउँदै आएका छन ।
महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको क्रियाशील सदस्यता वितरण, समायोजन र नवीकरणका क्रममा पार्टीभित्र उत्पन्न अवान्छित, अस्वाभाविक र भद्दा प्रवृत्तिले नेपाली काङ्ग्रेस चुस्त र गतिशील बन्ने मार्गमा अवरोध पैदा गरेको भन्दै सांसद सिंहले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा पेश गरेका हुन् ।
आफ्नो राजीनामा पत्रमा नेता सिंहले किटान गर्दै विशेषतः प्रदेश नं. २ मा पार्टीका उपसभापति विमलेन्द्र निधिले अवलम्बन गरेको नीति र व्यवहारले चिन्ताजनक स्थिति उत्पन्न गराएको उल्लेख गरेका छन् । निधिको रवैयाकै कारण प्रदेशमा काङ्ग्रेस पार्टीको स्थिति रक्षात्मक अवस्थामा पुग्ने खतरा बढाएको र यस्तो स्थितिमा पार्टीको एक जिम्मेवार सदस्यका रूपमा आफूले विशेष निर्णय लिनुपर्ने भएको उनको जिकिर छ ।
पार्टीसभापति एवम् प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखिएको राजीनामामा सांसद सिंहले भनेका छन्- ‘मधेसमा काङ्ग्रेसको प्रतिष्ठा र छवि रक्षा गर्दै ह्रासोन्मुख जनआस्था र विश्वास पुनर्स्थापना गर्न नागरिकको हैसियतमा मेरो भूमिका उपयोगी हुने भएकोले महामानव बीपी कोइरालाको स्मृति दिवसका दिन आजै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा गर्दछु ।’