May be an image of outdoors

मुलुक डेस्क, काठमाडौँ । २०७८ साउन ६, बुधबार

काठमाडौँ-तराई/मधेस द्रुतमार्गको निर्माणको काम लक्ष्यअनुसार बढ्दै छ । नेपाली सेनाद्वारा निर्माण जिम्मा आयोजनाको गत आर्थिक वर्षसम्म भौतिक प्रगतिको कुल लक्ष्य १६ दशमलव २१ प्रतिशत रहेकोमा सो अवधिसम्म कुल भौतिक प्रगति १६ दशमलव १० प्रतिशत सम्पन्न भएको सेनाले जनाएको छ ।

मन्त्रिपरिषद्को २०७४ वैशाख २१ को बैठकले द्रुतमार्ग निर्माणको व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सेनाले मङ्गलबार प्रेस विज्ञप्ति जारी गरी आर्थिक वर्ष २०७७/७८ मा आयोजनाको कुल अंशको थप पाँच दशमलव १० प्रतिशत काम सम्पन्न भई समष्टिगत भौतिक प्रगति १६ दशमलव १० प्रतिशत र वित्तीय प्रगति १४ दशमलव ५१ प्रतिशत लक्ष्य हासिल भएको जनाएको छ ।

गत आर्थिक वर्ष २०७७\७८ मा आठ अर्ब ९६ करोड ८८ लाख रुपियाँ विनियोजन भएकोमा वार्षिक आर्थिक प्रगति ९७ दशमलव ३४ प्रतिशत रहेको सेनाले जनाएको छ । त्यसैगरी आयोजनाको सुरुङमार्ग निर्माण गर्न छनोट भएका निर्माण कम्पनीले कार्य प्रारम्भ गरिसकेको सेनाले जनाएको छ । त्यसैगरी सडक आयोजनाको डिजाइन तथा कन्स्ट्रक्सन निरीक्षणका लागि अन्तर्राष्ट्रिय परामर्शदाता तथा स्थानीय विषय विज्ञहरू छनोट गरी सर्भेलगायतका काम भइरहेका छन् ।

आयोजनाको समष्टिगत वातावरणीय प्रभाव मूल्याङ्कन तथा सुरुङमार्ग र पुल निर्माण सम्बन्धमा केही परिमार्जन भएअनुरूप पूरक वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति भई कार्य प्रारम्भ गरिएको सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।रुख काट्ने काम सम्पन्न;रुख कटान तथा व्यवस्थापनसम्बन्धी कार्य शतप्रतिशतरूरुपमा सम्पन्न भएको सेनाले जनाएको छ । रुख कटान भएअनुसार १ः२५ को अनुपातमा वृक्षरोपण गर्ने कार्यअनुरूप गत आर्थिक वर्षको असार मसान्तसम्म दुई लाख ४९ हजार १६६ वटा वृक्षरोपण गरिएको छ ।

त्यसैगरी अहिलेसम्म ९१ दशमलव पाँच प्रतिशत जग्गा अधिकरण तथा मुआब्जा वितरणसम्बन्धी कार्य सम्पन्न गरिएको छ भने खोकना–बुङ्मती इलाकामा रहेको जग्गा विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगका सदस्यको संयोजकत्वमा समन्वय उप-समिति गठन गरी आवश्यक समन्वय र पहल भइरहेको छ ।योजना स्थलमा १४ वटा बेलिब्रिज जडान गर्ने योजनाअनुसार आठवटा बेलिब्रिज जडान गरी सञ्चालनमा ल्याइएको छ भने अन्य जडान हुने क्रममा रहेका छन् । सेनाका अनुसार पुल तथा सुरुङ निर्माण कामका लागि आवश्यक पर्ने पहुँच मार्ग निर्माणको काम पनि अगाडि बढाइएको छ ।

(साभार – गोरखापत्रबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *