May be an image of outdoors

मुलुक डेस्क, पर्सा । २०७८ साउन ५, मंगलबार

नेपाल कै प्रमुख र प्रसिद्ध व्यापारीक नाका वीरगञ्जमा प्रदेश नं. २ को एकमात्र महानगर हो । परापुर्व कालदेखि धार्मिक, साँस्कृतिक, साहित्यिक सदभावको संगम हो – वीरगञ्ज । मठ मन्दिर, मस्जिद, दरबार, घन्टाघर, घडीअर्वा पोखरी, शंकराचार्य द्वार, बन्दरगाह, बुद्ध पार्क, माईस्थान(गहवा माई), टाङ्गा, ठाकुर राम कलेज, रेल, पेट्रोल पाइप लाईन आदि वीरगञ्जको चर्चामा चार चाँद लगाएको छ । वीरगञ्जकाे पुरानो नाम गहवा हो।

माईस्थानमा रहेको गहवा मन्दिरको नामबाट गहवा नामाकरण भएको थियो ।गहवा धेरै पहिले देखी नै नेपालको ब्यापारिक केन्द्र थियो । बस्ती खासै नभए पनि वेतियाका केही मारवाडी परिवारलाई ब्यापार गर्न जङ्गबहादुरले यहाँ बोलाएका थिए ।

बहादुर शाह देश निकाला हुँदा पनि यहि गहवा हुदै बेतिया गएर बसेका थिए । शेर-ए-पञ्जाव रणजित सिंहका रानी चाँद कौर पनि यहि बाटो हुदै भिक्षाखोरी पुगेका थिए । राजा राजेन्द्र पनि यहि बाटो बेतिया पुगेका थिए । यसरी काठमाडौसंग नजिकिएको गहवामा बि.सं. १९५० मा वडाहाकिम भएर प्रधानमन्त्री वीरशम्शेरका भाइ शेरशम्शेर गहवा आइ पुगे ।

शेरशम्शेरले गहवालाई केही ब्यापारिक ब्यबस्थापन गराए र बिकासका कामहरूको थालनी गरे । पहिलेको ब्यापारिक केन्द्र ठोरीबाट कामकाज गहवामा स्थानान्तरण गराए । साथै प्रधानमन्त्री आफ्नै दाजू वीरशम्शेरलाई खुशी बनाउन उनले गहवाको नाम परिवर्तन गराएर वीरगञ्ज राखे।पवीरगञ्ज नाम परिवर्तन गरे पछि वीरशम्शेरले सिद्धवीर माथेमा र ध्वजबीर माथेमालाई आफ्नो विश्वासपात्रका रूपमा दुई अड्डाको हाकीम बनाएर पठाए ।

यीनै दाजुभाइले वीरगञ्ज स्थापनाको लागी निशुल्क जग्गा बाड्ने तथा घर बनाउन सहयोग गर्ने कार्य गरि जनसंख्या बृद्धी तथा बजार बनाउने कार्य गर्न थाले । साथै वीरगञ्जमा रेशमकोठी बनाइ कलकत्तामा रेशमको बिक्री र गोलीया काठको निर्यात समेत गराए । यस प्रकार वीरगञ्जकाे स्थापना भयो ।श्री ३ सरकार वीरशम्शेर कहिले काँही वीरगञ्ज सवारी हुने गर्दथे। उनका साथै राणा परिवारको पनि वीरगञ्ज आउने जाने क्रम भइरहन्थ्यो ।

त्यसकारण वीरशम्शेरले वीरगञ्जमा आफू र आफ्ना आफन्त बस्ने भव्य महल बनाउन लगाए । यो महल पहिलो पटक मुण्डा शैलीमा बनाइएको थियो । मुण्डा शैली भनेको दलिनको ठाउँमा ढलान गरेर बनाइने शैली हाे ।महल झण्डै २०० रोपनी क्षेत्रफलमा निर्माण गरियाे । महलको कम्पाउण्ड भित्र आँप र लिचीका थुप्रै जातका ठूला ठूला रूखहरू रोपिएको थियो । काठमाडौंबाट आउने तथा भारतबाट आउने उच्च पदस्थ तथा पाहुनाहरूलाई यहि दरवारमा स्वागत र मेजमानी गराइन्थ्यो ।

मुण्डा शैलीमा बनाइएको भएर यो महलको नाम पछी वीरशम्शेरले “मुडुली दरबार” राखे ।वीरशम्शेरले यो दरबार आफ्ना कान्छी रानी तेजकुमारी देवीका छोराहरू रूद्रशम्शेर, तेजशम्शेर तथा प्रतापशम्शेरलाई संयुक्त दरवारको रूपमा छाडेका थिए । तर पछि जुद्धशम्शेरले आफ्नो शासनकालमा तीन भाइबाट खोसेर आफ्नो निजीकरण बनाए ।

२००७ सालको प्रजातन्त्र आगमन पछि यो दरबार नेपाल सरकारको स्वामित्वमा आयो । हाल यो दरवारमा प्रहरी प्रशासन (एस.पि.) कार्यालय रहेको छ ।

(स्रोत; सुनिल उलकको फेसबुक वाल)

Leave a Reply

Your email address will not be published. Required fields are marked *