
मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ३, आइतबार
कांग्रेस सभापति शेरबहादुर देउवाले संसद्मा विश्वासको मत पाएका छन् । असार २८ गतेको सर्वोच्च अदालतको आदेश अनुसार असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति देउवाले आइतबार संसद्मा विश्वासको मत लिएका हुन् ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र एमालेका केही सांसदको साथ पाएका देउवाको पक्षमा कुल २४९ मतमध्ये १६५ मत खसेको छ भने उनको विपक्षमा ८३मत खसेको छ ।

सहभागीमध्ये एक सांसदले मत दिएनन् । प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार कांग्रेसका सभापति देउवाले विश्वासको मत लिएका हुन्। देउवालाई विश्वासको मत दिने विषयमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह नै विभाजित भए पनि एमाले अध्यक्ष केपी ओली समूहका केही सांसदले देउवालाई विश्वासको मत दिएका हुन् ।
आइतबार संसदमा भएको मत विभाजनमा प्रेम आले, किसान श्रेष्ठलगायत सांसदले देउवाको पक्षमा मतदान गरेका हुन् ।