मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ३, आइतबार
लूनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले विभिन्न विधाका आठ व्यक्तित्वहरूलाई शनिबार विशेष सम्मान गरेको छ। विगत २६ वर्षदेखि कलामन्दिरले निरन्तर स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ।
साहित्यकला मन्दिरले नेपाली वैज्ञानिक महावीर पुन आबद्ध राष्ट्रिय आविष्कार केन्द्रलाई गंगादेवी चौधरी स्मृति सम्मान, अग्रज साहित्यकार तथा पत्रकार चूडामणि रेग्मीलाई सरस्वती गद्य सम्मान, वरिष्ठ इतिहास–संस्कृतिविद् प्रा. डा. वीणा पौड्याललाई इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान, वरिष्ठ चित्रकार प्राज्ञ रागिनी उपाध्यायलाई अरनिको ललितकला सम्मान, वरिष्ठ कवि विश्वविमोहन श्रेष्ठलाई गोपालप्रसाद रिमाल काव्य सम्मान, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीलाई नारायणगोपाल संगीत सम्मान, वरिष्ठ रंगकर्मी वीरेन्द्र हमाललाई बालकृष्ण सम रंग सम्मान र चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई नेपाल नवप्रतिभा सम्मानबाट सम्मानित गरिएको हो।
उनीहरूलाई साहित्यकला मन्दिरका अध्यक्ष वसन्त चौधरी तथा नेपाल संगीत नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायण श्रेष्ठ रायनले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका थिए।कार्यक्रममा कला मन्दिरका अध्यक्ष वसन्त चौधरीले यसपटक यो क्रार्यक्रम कोभिडको महामारीका कारण सानो रूपमा आयोजना गर्नुपरेकोे बताए।
यी सम्मानहरू आफ्नो हृदयसँग जोडिएको सम्मान भएको उनले बताए।संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति रायनले प्रतिकूल अवस्थामा पनि स्रष्टाहरूले आ-आफ्नो विधामा जुन सिर्जना उमारिरहेका छन्, त्यो नै आफैंमा प्रशंसनीय रहेको बताए। कार्यक्रममा संस्थाका उपाध्यक्ष एवम् नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा, कवि विश्वविमोहन श्रेष्ठलगायतले बोलेका थिए।