३० असार २०७८ | मुलुक डेस्क

जोहानेसबर्ग — दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जेकब जुमा जेल परेपछि भड्किएको हिंसामा कम्तीमा ७२ जनाले ज्यान गुमाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हिंसात्मक प्रदर्शनमा सहभागी भएको आरोपमा १ हजार २ सयभन्दा बढीलाई पक्राउ गरिएको छ ।

तस्बिर : रोयटर्स

हिंसात्मक प्रदर्शनका साथै बजार क्षेत्रमा रहेका पसलमा भएको लुटपाट र भागदौडमा परी मृत्यु हुनेको संख्या बढी रहेको दक्षिण अफ्रिकी प्रहरीले जनाएको छ । पसलबाट ठूलो परिमाणमा खाद्यान्न, रक्सी र कपडा लुटिएको छ । त्यस्तै प्रदर्शनका क्रममा सडकमा सवारी साधनमा आगजनी गरिएको छ ।

सोवेटोको सडक प्रदर्शनका कारण अस्तव्यस्त बनेको छ । दक्षिण अफ्रिकी प्रहरीका अनुसार क्वाजुलु-नटाल प्रान्तमा २७ र ग्वाटेङ प्रान्तमा ४५ जनाको मृत्यु भएको छ । ग्वाटेङमा एउटा सपिङ सेन्टरमा लुटपाटपछि भएको भागदौडमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करिब एक सातादेखि भइरहेका हिंसात्मक प्रदर्शनहरूलाई रोक्न सरकारले सेना परिचालन गरेको छ । राष्ट्रपति सिरिल रामाफोसाले आम नागरिकलाई ‘हिंसाविरुद्ध उभिन’ आह्वान गरेका छन् । उनले हिंसाबाट टाढा रहन र देशलाई अस्थिर बनाउन चाहनेविरुद्ध दृढ रूपमा उभिन सर्वसाधारणहरूलाई आग्रह गरेका छन् ।

पूर्वराष्ट्रपति जुमाले प्रहरीसमक्ष गत हप्ता आत्मसमर्पण गरे पनि उनको समर्थनमा हिंसात्मक प्रदर्शन चर्किएको हो । जुमालाई जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो । भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका ७९ वर्षका जुमाबाहेक दक्षिण अफ्रिकी कुनै पनि पूर्वराष्ट्रपतिलाई सजाय सुनाइएको थिएन ।

जुमाको समर्थनमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी । तस्बिर : रोयटर्स

संवैधानिक अदालतले आफ्नो सजाय फिर्ता लिने वा कम गरिदिने अपेक्षा जुमाले गरेका उनका निकटस्थ स्रोतहरूले बताएका छन् । कानुनविद्हरूले जेल सजायँ माफी वा कम गर्ने सम्भावना भने नरहेको बताइरहेका छन् ।जुमालाई जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो। जुमाको नेतृत्वका बेला निर्णय लिने प्रक्रिया प्रभावित पार्नका लागि राजनीतिज्ञहरूसँग साठगाँठ गरेको व्यापारीहरूमाथि आरोप लगाइएको छ ।

सन् २०१८ मा सेनाको सहयोगमा उनको दलसहित त्यहाँका राजनीतिक दलहरूले उनलाई पदच्युत गर्न सफल भए पनि उनको पक्षमा अहिले पनि ठूलो समूह रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *