मुलुक डेस्क, काठमाडौं । २०७८असार २९
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त देउवाले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बाट दुईदुई मन्त्री नियुक्त गरेका हुन्। नियुक्ति सच्चिएपछि देउवाले शपथ लिएका हुन् । नवनियुक्त मन्त्रीमा बालकृष्ण खाँडले गृहमन्त्रालयको जिम्मेवारी पाएका छन् भने कांग्रेसका अर्का नेता ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन्।
माओवादी केन्द्रको तर्फबाट जनार्दन शर्माले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेकी छन्। प्रधानमन्त्रीलाई शपथ खुवाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीलाई शपथ गराएकी हुन्। सोमबार सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि सोही अनुसार राष्ट्रपति कार्यालयले मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्तिको पत्र दिएको हो।
राष्ट्रपति भण्डारीाले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम देउवाको सिफारिसमा मन्त्रिपरिषद्को कार्यविभाजन गरेकी हुन् । मंगलबार दिउँसो प्रधानमन्त्री नियुक्त भएका देउवाले नेपालको संविधानको धारा ८० बमोजिम प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका हुन् । त्यसैगरी नवनियुक्त चार मन्त्रीले समेत संविधानको धारा ८० बमोजिम शपथ लिएका हुन् ।