
२०७८ असार २९ | मुलुक डेस्क, काठमाडौं
गृह मन्त्रालयले देशभर उच्च सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई आन्तरिक सर्कुलर गर्दै गृहले सुरक्षा व्यवस्था चुस्त राख्न भनेको हो।
सोमबार सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएपछि बदलिएको राजनीतिक परिस्थितिमा गृहले यस्तो सर्कुलर गरेको हो।
गृहसचिव महेश्वर न्यौपानेले सोमबार साँझ सचिव स्तरीय बैठक राखेका थिए। सोही बैठकबाट निर्णय गरेर देशभर उच्च सुरक्षा सतर्कता अपनाउन र त्यसका लागि विशेष सुरक्षा योजना बनाएर लागू गर्न निर्देशन दिइएको हो।
गृह मन्त्रालयले यसका लागि जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई एकीकृत सुरक्षा योजना बनाएर लागू गर्न पनि निर्देशन दिएको छ।
अदालतको आदेशपछि त्यसको समर्थन र विरोधमा सडकमा प्रदर्शन हुनसक्ने भएपछि यस्तो सर्कुलर गरिएको गृह मन्त्रालयले जनाएको छ। गृहले सर्वोच्च अदालत आसपासका क्षेत्रमा पनि सुरक्षा व्यवस्था कडा पारेको छ। गृहको परिपत्र सोमबार साँझै सबै जिल्ला प्रशासन कार्यालयमा पुगिसकेको छ।