
मुलुक डेस्क, काठमाडौं । २०७८ असार २९ मंगलवार
६ दशकको राजनीति सफर, ५० वर्ष देखि सत्ता र राजनीतिको धुरीमा । पाँचौ पटक प्रधानमन्त्री बन्ने परमादेश ।।
शेर बहादुर नाम जस्तै राजनितीका शेर हुन् । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश जारी गरेको समय आज साँझ ५ बजे सकिँदैछ। सर्वोच्चले देउवाको पक्षमा फैसला सुनाएसँगै उनी पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन्। देउवाले राष्ट्रपतिले तोकेको समयभित्रै जेठ ७ गते १४९ जना सांसद्को हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका थिए।
तर, देउवाको दाबी समेतलाई राष्ट्रपति भण्डारीले अस्वीकार गरेकी थिइन्।त्यसकाविरुद्ध देउवाको नेतृत्वमा प्रतिनिधि सभाका १४६ जनाले रिट दायर गरेका थिए। १४६ जनाको रिटमाथि सर्वोच्चले सुनुवाइ गर्दै रिटमा माग भए बमोजिम सोमबार अदालतले परमादेश जारी गरेको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले यस्तो आदेश गरेको हो।सेरेफेरोमा देउवा ।शेरबहादुर देउवा वि.स.२००३ साल जेठ महिनामा डडेलधुरा जिल्लाको असीग्राम गाविस वडा न. ५ मा जन्मिएका हुन्।
उनले प्राथमिक शिक्षा डडेलधुराकै असीग्राम प्राथमिक विद्यालय र निम्न माध्यमिक शिक्षा महेन्द्र मावि तथा माध्यमिक शिक्षा सीताराम मावि उच्चकोट डोटीबाट लिएका थिए। उनले स्कुले जीवनबाट नै नेपाली कांग्रेसको राजनीतिलाई अगाल्न थालिसकेका थिए।एलएसली दिएपछि देउवाले उच्च शिक्षाको लागि भारत नगइ वि.स. २०२१ सालमा काठमाडौंको त्रिचन्द्र कलेजमा भर्ना भए। यसपछि उनी नेविसंघभित्र राजनीतिमा सक्रिय भए। यसक्रममा उनले विभिन्न समयमा पटक पटक पक्राउ परे।नेविसंघमा सक्रिय भएर काम गरिहेका देउवा विसं २०२८ सालमा पहिलो पटक नेपाल विद्यार्थी संघको सभापतिमा विजयी भए।
नेविसंघको नेतृत्वमा आएपछि उनले आफ्नो राजनीतिकलाई जन सशक्त रुपमा अगाडि बढाए।विद्यार्थी राजनीतिबाट आफूलाई अब्बल बनाएका देउवालाई बीपीले सुदूरपश्चिममा पार्टीको जिम्मेवारी दिएर खटाएका थिए। त्यतिबेला उनी भारतको बाटोबाट दार्चुला, बैतडी हुँदै डडेलधुरा पुगेका थिए।वि.सं. २०४६ मा नेपाली कांग्रेसले देशमा पहिलो जनाअन्दोलन अगुवाइ गर्यो त्यतिबेला देउवा लन्डन स्कूल अफ इकोनोमिक्समा अध्ययन गरिरहेका थिए। यसपछि २०४७ सालमा जनाअन्दोलन सफल भएपछि देउवा लण्डनबाट काठमाडौं फर्किए।२०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा देउवा गृहमन्त्री बने।
गृहमन्त्री बनेको पाँच वर्षभित्रै उनी मुलुकको प्रधानमन्त्री बने। राजनीतिको धेरै उतार चढाव खेप्नु भएका देउवाले कांग्रेसभित्रको बढ्दो सत्ता संघर्षमा उनले किशुनजी र गणेशमान सिंहको प्रत्यक्ष अप्रत्यक्ष साथ पाएका थियो। कोइरालाले अघि बढाएका देउवाले पार्टीको दशौ पोखरा महाधिवेशनमा कोइरालालाई नै नेतृत्वका लागि चुनौती दिए। २०५७ सालमा पोखरा महाधिवेशनमा देउवा कोइरालाकै विरुद्धमा सभापतिमा पदमा उम्मेदवारी दिएका थियो तर हार व्यहोर्नुर्पयो।कांग्रेसमा राजा र सेनाको असहयोग पनि बढ्दै गएको थियो भने एमालेले ५७ दिनसम्मको संसद घेराउ गरेको थियो।
जसबाट बाध्य भएर पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले २०५८ असार राजिनामा दिएका थिए। यसपछि फेरि कांग्रेसको नेतृत्व देउवाकै पक्षमा आयो र उनी पुनः कांग्रेस संसदीय दलको उम्मेदवार बने। सुशील कोइरालालाई हराएर नेता बने। संसदमा पार्टीको बहुमत भएकाले उनी दोस्रोपटक प्रधानमन्त्री भए।राजनीतिक घटनासँगसँगै विंस २०६१ साल माघ १९ गते ज्ञानेन्द्रले शाही कू मार्फत देउवालाई दोस्रोपटक हटाइदिएर सत्ता आफ्नो हातमा लिए। त्यतिबेला गिरिजाप्रसाद कोइराला माओवादीलाई साथ लिएर ज्ञानेन्द्र विरुद्ध जनान्दोलनको तयारीमा थिए। संसद पुनस्स्थापनापछि गिरिजाप्रसाद पुन एक पटक नेपाली राजनीतिमा चर्चाको शिखरमा आए।
यसपछि देउवा कोइरालासँग पार्टी एकीकरण गरेर मूल पार्टीमै फर्किए।नेपाली कांग्रेसको राजनीतिमा पाँच दशकपछि र सत्तरी वर्षको उमेरमा विसं.२०७२ सालको तेह्रौँ महाधिवेशनमा पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर देउवा नेपाली कांग्रेसको पार्टी सभापतिमा विजय भएका हुन्।उनले ४५ वर्षको उमेरमा राणा खानदानकी आरजु राणासँग विवाह गरे। त्यसपछि उनको निकटता दरबारसँग समेत भयो। विसं २०५१ सालमा कांग्रेसकै दुई सांसदले असहयोग गरेपछि कोइराला नेतृत्वको सरकार ढल्यो। कोइरालाले त्यसपछि मध्यावधि निर्वाचन घोषणा गरे। देउवासमेत गृहमन्त्री रहेका बेला भएको मध्यावधि निर्वाचनमा कांग्रेसलाई एमालेले उछिन्यो।
२०४८ सालमा ११० सिट जितेको कांग्रेस २०५१ सालको मध्यावधि निर्वाचन ८३ सिटमा खुम्चियो। ८८ सिट जितेर एमाले पहिलो पार्टी बन्यो।तर कांग्रेस हारेको चुनावपछी कोइराला विकल्पमा आफूलाई उभ्याउँदै देउवा संसदीय दलको नेता बन्न सफल भए। २०५१ सालको निर्वाचनमा ठूलो पार्टी बनेको एमाले अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भए। तर त्यो सरकारलाई ९ महिना भन्दा बढी टिक्न दिइएन। ९ महिना टिकेको त्यो सरकार सामाजिक सुरक्षा कार्यक्रम थालेर एमालेलाई स्थापित गराउन सफल भए। अधिकारी सरकार ढालेपछि कांग्रेस संसदीय दलका नेता देउवा प्रधानमन्त्री भए। पञ्चायत सर्मथक राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत समावेस गरेर उनले ५२ जनाको जम्बो मन्त्रिपरिषद् बनाए।त्यसपछि देउवा निरन्तर शक्तिशाली बन्दै गए।
देउवाको प्रधानमन्त्रीत्व कालमा पञ्चलाई सरकारमा ल्याउनेदेखि सुरासुन्दरी, रातो पासपोर्ट र सुत्केरी भत्ता जस्ता संसदीय विकृति जन्मिए।२०५४ सालको स्थानीय निर्वाचनमा कांग्रेस कहालीलाग्दो अवस्थामा पुग्यो। ७० प्रतिशत स्थानीय निर्वाचनमा एमालेले जित्यो। कांग्रेस २५ प्रतिशतमा सीमित हुन पुग्यो।२०५१ को मध्यावधि र २०५४ सालको स्थानीय निकायको निर्वाचनमा नराम्रो पराजय भोगेपछि तत्कालिन सभापति गिरीजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउने घोषणा गरे। त्यहीबेला एमाले विभाजित भएको थियो। एमालेको विभाजन र भट्टराईलाई प्रधानमन्त्री बनाउने घोषणापछि कांग्रेसले सुविधाजनक बहुमत ल्यायो। कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भए तर कोइरालाले त्यो सरकारलाई लामो समय टिक्न दिएनन्। भट्टराईलाई पाखा लगाएपछि फेरि गिरिजा प्रधानमन्त्री बने ।२०५८ सालमा रोल्पाको होलेरीमा भएको माओवादी आक्रमणमा तत्काली राजा ज्ञानेन्द्रले सेना परिचालन गर्न नमानेपछि कोइरालाले राजीनामा दिए। तर पुनः २०५८ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्री बनाए।
दोस्रो पटक प्रधानमन्त्री भएका देउवाले आफुलाई शक्तिशाली बनाउँदा पार्टी नै फुटाए।तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा असक्षमूको आरोप लगाई देउवा सरकारलाई विघटन गरे। तर उनै राजा ज्ञानेन्द्रले असक्षम घोषणित देउवालाई दुई वर्षपछि २०६१ सालमा पुनःप्रधानमन्त्री नियुक्त गरे। यो सँगै उनी तेस्रो पटक प्रधानमन्त्री बने। यसबेलासम्म कांग्रेसको हालत भने धेरै कमजोर भइसकेको थियो। राजाले शासन हातमा लिएपछि कांग्रेस करिब थला परेको थियो।२०६२/०६३ को आन्दोलनपछि पार्टीको कम्जोर अवस्थाका कारण देउवाले प्रजातिन्त्रक पार्टीलाई कांग्रेससँग एकीकरण गराए। एकीकरणपछि तत्कालिन सभापति कोइरालासँग ६०/४० को हैसियत बनाउन उनी सफल भए। पार्टी भित्र भने उनी गिरिजाको प्रमुख प्रतिपक्षको भुमिका रहिरहे।गिरिजाप्रसाद कोइरालाको मृत्यु भएपछि उनको शक्ति झनै बढ्दै गयो।
कांग्रेसमा कोइराला परिवारको प्रभुत्व रहेका कारण देउवा २०६६ सालको कांग्रेसको १२ औँ महाधिवेशनमा पराजित भए।तथापि उनको बर्चश्व भने पार्टीमा बढ्दै गयो। पार्टीमा बलियो प्रतिपक्षका रुपमा देउवा देखिए। सुशील कोइरालाले पार्टीमा प्रभाव छाड्न नसकेपछि कोइराला परिवार परिवारसँग रिसाएकाहरुलाई उनले आफुतिर ताने।२०७२ सालमा पार्टीको १३ औं महाधिवेशनमा रामचन्द्र पौडेललाई पराजित गर्दै देउवा पार्टी सभापतिमा निर्वाचित भए। २०७४ साल जेठमा देउवा चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भए। फेरि उनले ६४ सदस्यीय जम्बो मन्त्रिपरिषद बनाए। जुन नेपालको इतिहासकै सबैभन्दा ठूलो मन्त्रिपरिषद हो, त्यसले उनको धेरै आलोचना भयो।२०७४ सालमा भएका स्थानीय, प्रदेश र प्रतिनिधि सभाका तीनै निर्वाचन देउवा आफैँले गराए।