
२४ असार २०७८ | मुलुक डेस्क
प्रदेश २ सरकारले महिला, बालबालिकाहरूमाथि हिंसा न्यूनीकरण गर्न आफूहरू प्रतिबद्ध रहेको बताउँदै आए पनि यस प्रदेशमा हिंसा तथा मानवअधिकार हनन्को घटना भयावह बनेको छ। पुस १७ गते आठ वर्षीय बालिका बलात्कारको आरोपमा जनकपुरधाम उपमहानगरपालिका—७ जानकीनगर बस्ने ३५ वर्षीय अहमद राइनविरुद्ध उजुरी दिइयो। घटनापछि आरोपित फरार भएका छन्।
गत माघ १६ गते सप्तरीमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै आफ्नै बाबुविरुद्ध बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइन्। आरोपितलाई प्रहरीले माघ १८ गते समात्यो। १३ वर्षीय बालिकालाई बलात्कार गरी ६ महिनाको गर्भवती बनाएको आरोपमा धनुषाकै लक्ष्मीनियाँ गाउँपालिका —२ सपही बस्ने ३५ वर्षीय मुस्कान खातुन र सोही ठाउँ बस्ने २२ वर्षीय शम्भु भनिने ओमनारायण यादवविरुद्ध पीडित परिवारले माघ १५ गते जिप्रका धनुषामा उजुरी दिए।
मुस्कान खातुनले बालिकालाई आफ्नै कोठामा ग्राहक बोलाई यौनधन्दा गराउँदै आएकी थिइन्। प्रहरीले उनीहरूविरुद्ध मानवबेचबिखन तथा जबरजस्ती करणी मुद्दा दर्ता गरेको छ। स—साना बालबालिकादेखि वयोवृद्ध महिलाहरू समेत हिंसाबाट पीडित भएका छन्।
माघदेखि चैतसम्ममा मात्रै १ सय ४७ जना विभिन्न खाले हिंसाबाट पीडित भएका छन्। त्यसमा सबैभन्दा बढी महिला र बालबालिकाहरूकै संख्या रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र प्रदेश २ को कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेखित छ।
राज्य पक्षबाट ५ महिलासहित २३ जना पीडित भएका छन् भने गैरराज्य पक्षबाट ९७ महिलासहित १ सय २९ जना पीडित भएका छन्। पीडितहरूमध्ये ४ महिलासहित ७ जनाको हत्या नै भएको छ। तीन महिनाकै अवधिमा १५ जना महिला बलात्कारको सिकार भए ६ जनामाथि बलात्कारको प्रयास भयो भने ३ जनाले यौन दुव्र्यवहार भोग्नु परेको हो। बेचबिखनको घटनामा २, बहुविवाहमा ९, बोक्सीको आरोपमा २ र घरेलु हिंसाको घटनामा ७ जना पीडित भएका छन्।
बालअधिकार हनन्को घटनामा ४२ जना बालिका पीडित भएका छन्। जसमध्ये बलात्कारको घटनामा २६, यौन दुव्र्यवहारमा १२, बेचबिखन तथा ओसारपसारमा तीन र बालविवाह घटनामा एक जना पीडित भएका छन्।
पछिल्लो समय प्रदेश २ मा संगठित अपराधहरू पनि निकै बढेको र विशेषगरी महिला तथा बालबालिकाहरू घरपरिवारबाटै असुरक्षित भइरहेको महिला अधिकारकर्मी सुभद्रा आले बताउँछिन्। ‘पछिल्लो डेढ वर्षदेखि कोरोना महामारीले गर्दा थुप्रैले जागिर गुमाए, अधिकांश व्यक्तिहरू घरमै बसेको हुँदा आर्थिक मन्दी र घरायसी तनावहरूले पनि हिंसाको रूप लिएको देखिन्छ,’ आलेले भनिन्, ‘महिला र बालबालिकाहरूलाई पीडित बनाउन बढी सहज छ उनीहरू प्रतिकार गर्न सक्दैनन्। त्यसैले पनि हिंसाको सिकार भइरहेका हुन्छन्।’
महिला र बालबालिकाहरूमाथि हुने हिंसामा कडाइका साथ प्रहरी प्रशासनले समेत पहल नगरिदिँदा पीडितहरू थप पीडामा पुग्ने गरेको अधिकारकर्मी विनोद महरा बताउँछन्। ‘हिंसाको खबर आउँदा प्रहरीले जति छिटो अनुसन्धान प्रक्रिया अगाडि बढाउनुपर्ने हो त्यो हुँदैन। अनि पीडकको हौसला अझ बढ्छ र हिंसाले अपराधको रूप लिन्छ।’
साभार: मनिका झा, अन्नपूर्ण पोस्ट