१२ असार २०७८ | मुलुक डेस्क
सर्लाहीको ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको हत्या भएको छ। वडाध्यक्ष श्रेष्ठको शुक्रबार राती जेसिबी चालकसँग विवाद भएर जेसिबीले ठक्कर दिई हत्या भएको हो।
राती अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, जेसिबीका ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक रविन भन्ने हर्क बहादुर तामाङ नजिकैको होटलमा सँगै खाना खाएर बसेको र उक्त समयमा केही विबाद भएको बताइएको छ। विवाद गर्दा गर्दै पोखरी खनेको स्थानमा पुगेपछि चालक तामाङले जेसिबी चलाएर वडाध्यक्ष श्रेष्ठलाई जेसिबीको बकेटले ठक्कर दिएर लडाएको र त्यसपछि माटोले पुरेको पाइएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरले जानकारी दिए। प्रहरीको प्रारम्भिक अनुसन्धानमा पूर्व योजना नभई आवेशमा आएर घटना गराएको देखिएको उनले बताए।
घटनाबारे जानकारी पाउनासाथ तत्कालै प्रहरी टोली घटनास्थलमा पुगेर अचेत अवस्थामा रहेका वडाध्यक्ष श्रेष्ठलाई जिल्ला अस्पताल मलङ्गवा पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले घटनामा संलग्न भएको आरोपमा जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका–३, कै ३५ वर्षीय प्रेमराज दाहाल र जेसिबीका चालक बरहथवा नगरपालिका–१, का ३८ वर्षीय रविन भन्ने हर्क बहादुर तामाङलाई नियन्त्रणमा लिएको छ।