असार २, २०७८ | मुलुक डेस्क
स्थानीयसँग कुराकानी गर्दै राप्रपा अध्यक्ष पशुपति शमशेर राणा
सिन्धुपाल्चोकका बाढी पीडितलाई तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न राप्रपा अध्यक्ष राणाको माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमशेर राणाले सिन्धुपाल्चोक जिल्लाका बाढी पीडित क्षेत्रका जनतालाई तत्काल उद्धार र राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
‘प्राकृतिक विपत्तिको मारमा परेका जनतालाई तत्काल उद्धार र राहत उपलब्ध गराउन सरकारले कुनै विलम्ब गर्नु हुँदैन। अविरल वर्षाबीच जनधनको क्षति र जोखिम कायम रहेकोले आपतकालीन परिचालन गर्न सरकारलाई आह्वान गर्दछु,’ राप्रपा अध्यक्ष राणाले सिन्धुपाल्चोक जिल्लाको बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा बुधबार भने।
बाढी प्रभावित क्षेत्रका जनतासँग कुराकानी गर्ने क्रममा राणाले व्यक्तिगत रुपमा आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता पनि जाहेर गरे।
सिन्धुपाल्चोक जिल्लाका बाढी पीडित क्षेत्रको स्थलगत निरीक्षण गर्ने क्रममा राणा मेलम्ची, तिम्बु, किउल, चनौते, ग्याल्थुम, याङ्ग्री र हेलम्बु लगायतका स्थान पुगेका थिए।
यसैबीच पीडित जनतालाई सहयोग गर्ने विषयलाई लिएर अध्यक्ष राणाले सभामुख अग्नीप्रसाद सापकोटासँग मेलम्चीमा छलफल गरेका छन्। सभामुख सापकोटा, प्रदेश सांसद, नगर प्रमुख लगायतको उपस्थितिमा सर्वपक्षीय बैठक बसेर आपतकालीन निकासका लागि पहल गर्ने निर्णयसमेत भएको छ।
पीडित जनताको उद्धार र राहत कार्यमा क्रियाशील हुन राप्रपाका स्थानीय कार्यकर्तालाई अध्यक्ष राणाले निर्देशन दिए।