No description available.

१ असार २०७८ | कृष्ण सिंह

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका वडा न-५, पडरिया गाउँमा चार दिनको भित्रमा ८ जना ब्यक्तिको मृत्यु भएको छ ।मृत्यु हुनेमा ५ जना स्थानीय सहित ३ जना भारतीय नागरिकहरु रहेका छन् । उनीहरु सबैको नेपाल-भारत सीमा क्षेत्र दशगजाबाट करिब दुई किलोमिटर उत्तरतर्फ पर्ने पडरिया गाउँमा संचालित स्थानीय देवराज कापरको भट्टी पसलमा विषाक्त घरेलु मदिराको सेवनबाट भृत्यु भएको आशंका गरिएको छ ।

मृतक मध्ये ३ जना भारतीय नागरिकहरु इँटा उद्योगमा कार्यरत मजदुर रहेका छन् भने अन्य पाँच जना सोही (पडरिया)गाउँका स्थानीयवासी रहेका छन् । तीनै जना भारतीय नागरिकको २८ गते र अन्य ५ जना स्थानीयबासीहरुको २९ , ३० र आज बिहान ३१ गते मृत्यु भएको ब्रह्मपुरी गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक उपेन्द्र राउतले जानकारी दिएको छ । उनका अनुसार मदिरा सेवन गरेर मजदुरीका लागि भारततर्फ जाँदै गर्दा २ जनाको भारतकै आगरा भन्ने ठाउँमा पुग्दा मृत्यु भएको छ। मदिरा सेवन गरेका थप तीन जना स्थानीयहरु पनि बिरामी परेका छन् ।उनीहरूको सदरमुकाम मलंगवामा उपचार भइरहेको छ ।

मदिरा पसलका संचालक देवराज कापर आफै पनि बिरामी परेका छन् । चार दिनमा आठ जनाको मृत्यु भएपछि सोमवार बिहान स्वास्थ्य निर्देशनालय जनकपुरबाट डा. कमलेश यादव, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएजओ) बाट डा. किरण बास्तोला, जिल्ला अस्पताल मलंगवाबाट डा. अविनाश कुमार सिंहसहित जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाको स्वास्थ्य शाखाको टोलीले मदिरा पसल संचालनमा रहेको गाउँको निरीक्षण गरेको छ । निरीक्षणका क्रममा १३ जनाको एन्टिजेन विधीबाट कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक राउतले बताए ।

जिल्ला अस्पताल मलंगवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नवलकिशोर झाले मदिरा सेवनबाट सबैको मृत्यु भएको जानकारी आएपनि मृत्युको कारण पत्ता लगाउन मृतकहरुको भिसेरा परीक्षणका लागि फरेन्सिक ल्याब, काठमाण्डौंमा पठाउने तयारी गरिएको बताए । डा. झाले बिरामीहरुसँग पनि घटनाबारे थप सोधखोज गरिने बताएका छन् । उता ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष विनोद कुमार साहले मृत्यु भएका आठै जना र बिरामी परेका तीन जनाले विषाक्त मदिरा सेवन गरेको पाइएको जानकारी दिएका छन्।

मृत्यु हुनेहरुमा पडरिया गाउँका ५० वर्षीय राम ईश्वर पासवान, ३९ वर्षीय दिनकर दास, ६५ वर्षीय कैलु दास, ५० वर्षीय जुगेश्वर माझी र २४ वर्षीय बलिन्द्र दास रहेका छन् । यस्तै भारतको उत्तर प्रदेश राज्यका ३५ वर्षीय दाताराम निसाद, ५५ वर्षीय शिवसागर निसाद र ३२ वर्षीय सर्वेस राम निसाद रहेको स्वास्थ्य शाखाका संयोजक राउतले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *