१ असार २०७८ | मुलुक डेस्क
प्रदेश सरकारहरुले आगामी आर्थिक वर्ष २०७८/७९ लागि बजेट प्रस्तुत गरेका छन् ।
यसैक्रममा गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३ करोड रुपियाँको बजेट ल्याएको छ । यो चालु आवभन्दा झण्डै ५ अर्ब कम हो । चालु आवको बजेट ३४ अर्ब ८० करोड रुपियाँ छ । प्रदेशको आन्तरिक स्रोत अपेक्षाकृत रुपमा बढ्न नसकेको, राजश्व बाँडफाँट र नेपाल सरकारबाट प्राप्त हुने अनुदानमा कमी आएकाले बजेटको आकार घटेको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उल्लेख गरे ।
त्यस्तै प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपियाँ बराबरको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङबुहाङले बजेट प्रस्तुत गरेको बजेटको यो आकार चालु आर्थिक वर्षको भन्दा ८ अर्ब ४३ करोड ७४ लाख कम हो । मन्त्री टङ्क आङबुहाङले चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख र पूँजीगतर्फ १५ अर्ब ५ करोड ३५ लाख रुपियाँ विनियोजन गरेको बताए ।
यसैगरी आजै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि झण्डै ४१ अर्ब रुपियाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले प्रदेशसभामा पेश गरेको बजेटमा चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार रुपैयाँ विनियोजन गरिएको छ । स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख ९६ हजार विनियोजन गरिएको छ ।आगामी आवको बजेट चालु आवको भन्दा साढे ३ अर्बभन्दा बढी हो । आर्थिक वर्ष २०७८/७९ मा ३७ अर्ब ३५ करोडको बजेट थियो ।
यसैबीच, प्रदेश २ सरकारले आजै आगामी आर्थिक बर्ष २०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपियाँको बजेट सार्वजनिक गरेको हो । प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले चालूतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार, पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार र वित्तीय व्यवस्थातर्फ १० करोड रुपैयाँ बजेट विनियोजना गरेको उल्लेख गरे ।
बागमती प्रदेश सरकारले आजै आगामी आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभामा आज आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले ५७ अर्ब रुपियाँ भन्दा धेरै रकमको बजेट सार्वजनिक गरेका हुन् । कूल विनियोजन मध्ये चालु तर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार बजेट छुट्याइएको छ । यसमा पूँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार र वित्तीय व्यवस्थातर्फ २ अर्ब विनियोजन गरिएको मन्त्री ढुंगेलले उल्लेख गरे ।
त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले पनि आजै अगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख रुपियाँ बराबरको बजेट ल्याएको छ । सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले प्रदेशसभा बैठकमा चालु आर्थिक वर्षको वार्षिक बजेट भन्दा ३ अर्ब ५ करोड कमको बजेट प्रस्तुत गरेका हुन् । मन्त्री शाहले चालुतर्फ १० अर्ब ६६ करोड र पुँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख बजेट विनियोजन गरेको उल्लेख गरे ।