२२ जेष्ठ २०७८ | रामअधार साह । मनरा

कोरोनाकालमा डरत्रास अनि अभावको माहौल यसै पनि छ ! तर यसै वीच मनराशिसवा नगरपालिका वडा नं १ अवस्थित मनरामा आज विहानै डाकाको समुहद्वारा लुटपाट र कुटपिटको भयनाक एवं हृदयविदारक घटना भएको छ । घटनामा दुईजना महिलामाथि निर्घात कुटपिट एवं एकजना वृद्ध पुरुषमाथि संघातिक हमला भएको छ । लगभग २० तोला सुन, १२ भरी चाँदी र २७ हजार नगद लुटेर लुटेराहरु भाग्न सफल भए ।


मनरा बजार तथा प्रहरी पोष्टदेखि तीन सय मिटर दक्षिण रामवृझ सिंहको घरमा राति करिब १ बजे देखि २ को वीचमा १० देखि १२ जनाको समुहमा डाकाहरू प्रवेश गरेका थिए । घरको छतबाट भान्सा कोठाको ढोका फुटाली भित्र पसेका थिए । पूणर्रूपमा मुख ढाकेका डाकाहरु घरभित्र सुतेका श्रीमान रामवृझ सिंहलाई फलामको रडले हानेर टाउको फुटाले भने श्रीमती सावित्री देवीलाई हातमुख बाँधेर निर्घात कुटेका थिए । सावित्री देवीका अनुसार उनको नाक र कान तथा घाँटीको करिव ५/६ तोला सुन तथा खुट्टाको १२ भरीको चाँदीको पायल खोसेका थिए । साथै घर खर्च राखेको ५ हजार भारु नगद एवं १२ हजार नेरु नगद लिएर डाकाहरू फरार भएका थिए ।

जबकी शारिरीक रूपले अशक्त उनको पतिको टाउको फुटाउदै डाकाहरु भाग्न सफल भएका थिए। सम्पूर्ण रुपमा घरका सबै सामानहरु बर्वाद पार्दै संगै टाँसिएको प्रमोद सिंह (गुड्डु) को घरमा पनि डाकाहरु पसेका थिए । दराज र बक्साहरू तोडी २ तोला सुन लगेको थियो । प्रमोदका अनुसार उनको घरमा राती कोई पनि थिएन् । खबर सुन्नासाथ उनी दिउसो घर आइपुगेका थिए ।
यसैगरी त्यहाँबाट सय मिटर दक्षिण पश्चिममा अवस्थित स्व. कपिलदेव सिंहको घरमा करिब तीन बजे त्यही डाकाको समुह प्रवेश गरेको थियो । हातमा फलामको रड, चाकु, भाला, बल्छी बोकेर ढोका तोडरे घरभित्र पसेको थियो ।

घरमा एक्लै महिला उर्मिलादेवी सुतिरहेको अवस्था थियो । उनका अनुसार उनको हात खुट्टा बाँधेर डाकाहरुले कुटेका थिए । घरभित्रका जम्मै दराज, बाक्साहरू तोडी उनले लगाएको नाक, कान, घाँटीलगायत घरमा भएको करिब १२ तोला सुन लुटेर भागे । साथै ५ हजार नेरु नगद पनि लिएर फरार हुन् सफल भएका थिए । डाकाहरु झण्डै १ घन्टासम्म उनको घरमा लुटपाट गरेका थिए ।

घटनाक्रमको जानकारी र उजुरी स्थानिय प्रहरी प्रशासन तथा जिल्लालाई अवगत गराइएको छ । पिडित र स्थानिय बासिन्दामा आक्रोस र भयको माहौल छ । जनधनको क्षतिले जनता भयभित छन् । पर्याप्त सुरक्षा र सजगताको अवस्था महसुस गर्दै लुटेरा डाकाहरुको पहिचान गरी समात्न जनताले प्रशासनसंग आव्हान गरेको छ ।

शंका र कारण

आज विहानको डकैती घटनालाई हेर्दा आम स्थानियमा धेरै गुनासो रहेको भेटियो । १० देखि १२ जनाको समुहमा आएका डाकाहरुको अनुहार प्रष्ट नदेखिए पनि युवा समुह (लगभग २० देखि २५ वर्ष उमेर) थियो । उर्मिलादेवीको भनाइलाई आधार मान्ने हो भने गाउँकै युवाहरू हनु पर्दछ । ड्रग्स, गाँजा, ट्याबलेट खाने र आपराधिक गतिविधिमा संलग्न रहेका बेरोजगार एवं मुर्खका जमात हुनुपर्छ । उनीहरुको बोली र व्यवहार अपरिपक्क र मुर्खको जस्तो थियो । उनीहरुलाई घरको सदस्यको नाम पनि थाहा थियो । बारम्बार घरको सदस्य (सुरेश) छैन भनेर आपसमा डाकाहरुले एक अर्कालाई बोल्दै गरेको थियो । र विहानको ४ बजेसम्म लुटपाट गरेर टाढा जानै सक्दैनन् किनभने विहानपख स्थानिय हरु हिडडुल गर्न थाली सकेका हुनछन् । उनीहरुको रुमाल र फलामका हतियारहरु घर पछाडिको आँप बगैचामा फेला परेको छ ।


स्थानिय नगर प्रहरी सहायक निरीक्षक सेख जियाउल हकका अनुसार घटनामा दोषी डाकाहरुको छानविन र खोजीको क्रम जारी छ । स्थानिय एवं पिडीतको भनाइ अनुसार नगरमा लागुऔषध सेवनगरी लुटपाट मच्याउनेलाई सप्रमाण समात्ने प्रयास हुनेछ । नगरको सुरक्षालाई चाक चौबन्द बनाइने छ । बोर्डर क्षेत्र भएकोले भारतीय डाका र स्थानियको मिलेमतो हुने सम्भावनालाई नर्कान सकिदैन । घटनाको संज्ञान नगरप्रमुख संजयकुमार सिंहलाई पनि रहेको छ । उनी आफै घटनास्थल पुगरे जायजा लिएका हुन् । पिडीतलाई न्याय एवं डाकालाई दण्ड सजायको दायरामा ल्याउने प्रतिवद्धता समेत जाहेर गरेका छन् । उनका अनुसार २ महिना भित्रमा यस्ता खाले डकैती दुई पटक भएको छ । नगरका नागरिक र प्रहरीको सहयोगले चाँडै पहिचान गरेर समात्ने कार्य हुन्छ ।

वृद्ध उर्मिलादेवीका अनुसार हाम्रो घर अगाडी वडा सदस्य रविन्द्र सिंहलाई बारम्बार तागेदा गरेर पोलमा बत्ति जडान गर्नु भन्दा पनि वास्ता नगरेका गुनासो छ । अंध्यारोको मौका छोपेर डाकाहरुले डकैती गरेका हुन् । उर्मिलादेवीका छोरा रमेशकुमार सिंहका अनुसार जननिर्वाचितहरु आफ्नै पोल्टा भर्नमा व्यस्त छन् । जबकी हाम्रै भोटेले जितेका हुन् । यद्यपी जनताको पिर, मार्का बुझ्ने समय नै छैन् ।

कोरोनाका भयावह अवस्थामा बेरोजगारी प्रमुख समस्या हो । त्यसमाथि नगरका केही पहिचान गरिए पनि किटान नभएका कुलतमा फसेका आवारा केटाहरु पैसा र लतका लागि जे पनि गर्न तम् तयार रहन्छ । प्राय नगरका घरका युवा सदस्यहरु बाहिर छन् । घरमा वृद्धवृधा मात्र छन् । गाँउबाट भर्खरै नगरमा रूपान्तरित भएपनि परिवेशमा खासै परिवर्तन भएको छैन् । नगरवासीहरू पनि लापरवाह भएर सुत्नु वा रहनु । घर, कम्पाउन्डको घेराबेरा सुरक्षित एवं मजबूत नपार्नु तथा एकजुट भएर परिस्थितिको सामना नगर्नु । जे होस् सबैमा चेत आउनु पर्‍यो । सुरक्षार्थ खटिएका प्रहरी पनि ब्यापारीसंग राती राती पैसा असुल्नुको साटो नगरको ज्यूधनको सुरक्षामा घटिनु पर्‍यो । नगरप्रमुखले विकास, सूरक्षा र सदभावमा बढी ध्यान दिनु नै हितकार हुन्छ भन्ने स्थानिय अधिकांशको गुनासो र भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *