वर्ष : ०३ | अंक : २४ | वैशाख २०७८

उपेन्द्र खनाल | तनहुँ

पछिल्लो समय भाषाप्रतिको मोह बढ्दै गएको छ । विशेषगरी अंग्रेजी सिक्न खोज्नेको संख्या नेपालमा बढ्दो छ । जसका कारण पनि अभिभावकले आफ्ना छोराछोरीलाई बोर्डिङ स्कुलमा भर्ना गर्ने गरेको पाइन्छ । अंग्रेजी विस्व भाषा नै भएकाले पनि यसतर्फ आकर्षण हुनु स्वभाविक हो । तर पछिल्लो समय तनहुँका बालबालिकाहरुको रोजाइमा भने अंग्रेजी भन्दा पनि संस्कृत भाषा पर्न थालेको छ । त्यसमा पनि ब्राह्मण, क्षेत्रीभन्दा मुस्लिम र अन्य समुदायका बालबालिका बढी छन् ।

व्यास नगरपालिका ३ स्थित महर्षि वेदव्यास सस्कृत माध्यामिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या ब्राह्मण क्षेत्री भन्दा अन्यको बढी छ । उक्त विद्यालयमा संस्कृत भाषा सिक्न व्राह्मण क्षेत्री समुदायका बालबालिका भन्दा अन्य जातजातीका बालबालिका बढी आउने गरेको विद्यालयका प्रधानाध्यापक तोयानाथ निरौलाको भनाइ छ । उनले भने ‘यो संस्कृत विद्यालय हो, यहाँ संस्कृत विषयको पढाइ हुने भएकाले पनि यहाँ ब्राहमण क्षेत्री समुदायका बालबालिका बढी आकर्षित हुनुपर्ने थियो तर यहाँ मुस्लिम र अन्य समुदायका बालबालिका बढी भर्ना भएका छन्,’ उनले भने ।

अझ रोचक त के छ भने विद्यालयमा २९ जना त मुस्लिम समुदायका बालबालिका मात्रै अध्ययन गरिरहेका छन् । उनीहरु संस्कृतको उत्पत्ति र भाषाको महत्व कति रहेछ भन्ने बुझ्नको लागि पढ्न आएका हुन् । विभिन्न भाषाहरुको विकास पनि संस्कृत भाषाबाट नै भएकाले संस्कृत पढ्न आएको कक्षा १० मा अध्ययनरत रुस्तम मिया बताउँछन् । उनी भन्छन् ‘भाषा बुझ्न र सिक्ने इच्छा भएकाले यहाँ पढ्न आएको हुँ ।’

पछिल्लो समय संस्कृत भाषाप्रति मुस्लिम समुदायका बालबालिकाको आकर्षण बढ्दै गएको छ । घर नजिकै अन्य विद्यालय भएपनि सस्कृत भाषा पढ्ने इच्छा भएकाले उनीहरुको सस्कृत भाषाप्रति आकर्षण बढेको हो । विद्यालयमा ब्राह्मण, क्षेत्री, दलित, जनजाती तथा मुस्लिम समुदायका बालबालिका अध्ययन गर्छन् । मानिसहरुको सस्कृत भाषाप्रति रुचि कम हुँदै गएकाले भाषा नै लोप हुने अवस्थामा पुग्दै गएपनि पछिल्लो समय भने आकर्षित भएका छन् । सस्कृतप्रतिको मोह जगाउनको लागि अभिभावक पनि सक्रिय हुनुपर्ने प्रधानाध्यापक निरौलाको भनाइ छ ।

एकातिर आमाहरुको अंग्रेजी सिक्ने मोह छ भने अर्कोतर्फ बालबालिकाको संस्कृत भाषा सिक्ने मोह छ । उनीहरुको रुचि र लगावले शिक्षकशिक्षिका पनि सन्तुस्ट छन् । एकातिर संस्कृत विद्यालयमा मुस्लिम समुदायको बालबालिकाको आकर्षण बढेर विद्यालयको गरिमा बढेको छ भने अर्कोतर्फ ६० वर्ष कटिसकेका आमाहरु आएर पढ्दा विद्यालयको सान बढेको छ । अहिले उक्त विद्यालयमा ६० वर्ष भन्दा माथि कटेका २६ जना आमाहरु दिनहुँ विद्यालय आइ अध्ययन गरिरहेका छन् ।

पढ्नको लागि उमेरले छेक्दैन भन्ने गतिलो उदाहरण उनीहरुले प्रस्तुत गरेका छन । ती वृद्धा अवस्थाका आमाहरु बिहान सबेरै उठ्छन् । छिटोछिटो उठी विहानको काम गर्छन् र छोराछोरीलाई विद्यालय पठाउँछन् । त्यसपछि घरधन्दा गरी कपाल कोरी झोला बोकेर ११ बजे विद्यालय पुग्छन् र पढ्न सुरु गर्छन् । उनीहरुको यो दैनिकी नै हो । बुढेसकालमा पनि उनीहरुको रुचि पढाइप्रति देख्दा शिक्षकशिक्षिकासमेत दंग छन् । अधिकांस आमाहरु कखरा सिक्न र अक्षर चिन्नको लागि आएका हुन् भने केही आमाहरु अंग्रेजी बोल्न सिक्ने इच्छा प्रकट भएकाले भर्ना भएका हुन् ।

अधिकांसले दस्तखत समेत गर्न नजानेकाहरु अहिले दस्तखत मात्र नभई मोवाइलसमेत चलाउने गर्छन् । अधिकांस आमाहरु भने सानो उमेरमा पढ्ने इच्छा भएपनि वाध्यतावस पढ्न नपाएकाले वृद्धावस्थामासमेत पढ्न आएका हुन् । सानोमा बढ्ने इच्छा हुँदाहुँदै पनि बाध्यताका कारण पढ्ने अवसर गुमाएको उनीहरुको गुनासो थियो । तर गृहिणी शिक्षा कार्यक्रम अन्तर्गत संस्कृत विद्यालयमा दिवा कक्षा संचालन भएपछि भने उनीहरुको पढ्ने धोको पुरा भएको छ ।

व्यास नगरपालिका– ३ देउरालीनगर बस्ने ६० बर्षीय धनमाया गौली उठ्ने बित्तिकै घरको काम गर्न सुरु गर्छिन् र छिटोछिटो काम सकाएर विद्यालय जान्छिन् । त्यस्तै ७१ वर्षीय मिश्रीमाया घर्तीको पनि दैनिकी त्यही नै हो । उनीहरुको दुई जनाको मात्र नभई दमौली र आसपासका २६ जना आमाहरुको दैनिकी त्यसरी नै वितिरहेको छ । विभिन्न समस्याका बाबजुद पनि उनीहरु निरन्तर विद्यालय धाइरहेका छन् । दस्तखत गर्न पनि नजानेकाले पढ्नको लागि विद्यालय आएको मिश्रीमाया घर्ती क्षेत्री बताउँछिन् । मैले दस्तखत पनि गर्न जानेकी थिइन । सही गर्न नजान्दा साह्रै मन खिन्न हुने रहेछ । त्यसपछि दस्तखत गर्न पनि जान्नको लागि पढ्न आए । ‘अहिले पढ्न र लेख्न जानेको छु दुई वर्ष अघिदेखि विद्यालय पढ्न आएको हुँ । विद्यालयमा हाम्रा लागि यो पढ्ने अवसर मिलेको छ ।’ विद्यालयमा गृहिणी शिक्षा कार्यक्रमा संचालन भएपछि आँफुहरुलाई चुनौती र अवसर दुबै मिलेको उनले बताइन् ।

आमाहरुलाई दिनहुँ पढाउँदै र सिकाउँदै आएकी शिक्षिका विनु श्रेष्ठ पनि निकै खुशी छिन् । आमाहरुलाई सिकाउन र पढाउन पाउँदा उनी दंग मात्र होइन एउटा नयाँ अध्यायको सुरुवात भएको पाउँछिन् । ६० देखि ७० वर्षको उमेरमा पनि आमाहरुको पढाइप्रतिको झुकाव देखेर आफु प्रभावित बेनेको उनले बताइन् । गृहिणी शिक्षा कार्यक्रम सुरु गरेपछि दमौली बजार र आसपासका आमाहरु अध्ययनको लागि विद्यालय आउनुहुन्छ । केही पनि नजान्नुभएको आमाहरु अहिले मोवाइलमा म्यासेज गर्नी, गिता, रामायण तथा स्वस्थानीसमेत पढ्नी गरेको उनको भनाइ छ ।

यता आमाहरु अंग्रेजी सिक्ने मोहका साथ विद्यालय आउने गरेका छन्् भने छोराछोरीहरु संस्कृत भाषा सिक्न विद्यालय आउने गरेका छन् । एउटै विद्यालयमा एकातिर आमाहरु पढिरहेका हुन्छन् भने अर्कोतिर छोराछोरीहरु अध्ययन गर्दछन् । सस्कृत भाषा, व्याकरण, कर्मकाण्ड, ज्योतिषलगायतका विषयहरु विद्यालर्थीहरुलाई पढाइन्छ भने आमाहरुलाई गणित, विज्ञान, सामाजिक, अंग्रैजीलगायतको विषय पढाइने गरिएको छ ।

शिक्षा विभाग अन्तर्गत रहेर व्यास नगरपालिकाको समन्वयमा उक्त विद्यालयमा गृहिणी शिक्षा कार्यक्रम संचालन गरिएको हो । विद्यायलमा ११ देखि तीन बजे सम्म गृहिणी शिक्षा कार्यक्रमको पढाइ हुने गर्छ । कक्षा १ देखि १२ सम्म पढाई हुने उक्त विद्यालयमा कुल २८१ जना विद्यार्थी अध्ययनरत छन् । मुस्लिम समुदायका २९ जना विद्यार्थी र गृहिणी शिक्षा कार्यक्रममा २६ जना आमाहरु अहिले विद्यालयमा अध्ययन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *