जेष्ठ १८ २०७८ | मुलुक डेस्क

सातामा ५ दिन आउने र जाने गरी दिनमा दुईका दरले १० अन्तर्राष्ट्रिय उडान हुने भएका छन् । नागरिक उड्डयन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै अन्तर्राष्ट्रिय उडानतर्फ ५ वटा वायुसेवा कम्पनीलाई सातामा १० वटा नियमित उडान खुला गरिदिएको छ ।

मन्त्रिपरिषद्‌को बिहीबारको निर्णयले वैशाख २३ देखि स्थगन गरिएको अन्तर्राष्ट्रिय उडान (भारतबाहेक तेस्रो मुलुकका लागि रोकिएको) खुलाउने निर्णय गरेको थियो । सामान्य अवस्थामा नेपालमा २७ वटा विदेशी र तीनवटा नेपाली गरी ३० वटा वायुसेवाले अन्तर्राष्ट्रिय उडान गर्थे ।

प्राधिकरणको उडान अनुमति शाखाका उप–प्रबन्धक ज्ञानेन्द्र भुलका अनुसार टर्कीको स्तानबुलका लागि टर्किस एयरलायन्स, कतारको दोहाका लागि नेपाल वायुसेवा निगम र कतार एयरवेज र भारतको नयाँ दिल्लीका लागि एयर इन्डिया र नेपाल वायुसेवा निगमलाई नियमित उडान गर्न अनुमती दिइएको छ ।

पर्यटन मन्त्रालयका एक अधिकारीका अनुसार यो सुविधाले अब अन्तर्राष्ट्रिय उडानतर्फ स्वदेशी–विदेशी यात्रुले केही नेपाली ट्राभल एजेन्टले वायुसेवाकै कर्मचारीसँग मिलेर असुल्ने महँगो टिकट खरिद गर्नु पर्ने बाध्यता हट्नेछ ।

प्राधिकरणको नयाँ तालिका अनुसार, युरोप, अमेरिकाका यात्रुले अब हरेक बिहीबार टर्किस एयरलायन्सको उडानबाट ओहोरदोहार गर्न सक्ने छन् । त्यस्तै, दिल्ली–काठमाडौं बुधबार र शुक्रबार उडानलाई निरन्तरता दिइएको छ । जुन यसअघि निषेधाज्ञामा पनि जारी नै थियो । त्यस्तै, दोहा हुँदै मध्यपूर्वी मुलुक लगायत अन्य मुलुकहरुमा जान सोमबार बिहान कतारले र राति नेपाल वायुसेवा निगमले काठमाडौंबाट उडान गर्नेछन् । सोमबार राति नेपालबाट दोहा जाने निगमको विमान मंगलबार मात्रै काठमाडौं फर्किने छ ।

प्राधिकरणले हाललाई यी ५ वटा वायुसेवा कम्पनीलाई सातामा १० वटा नियमित उडान जेठ १८ देखि असार १६ सम्म खुला गरिदिएको छ । त्यसपछि पुनः महामारीको अवस्थाको विश्लेषण गर्दै उडान थपघट हुने मन्त्रालयका ती अधिकारीले बताए ।

सरकारले चीनका लागि पनि उडान खुला गरेको छ । तर, हाल कुनै पनि चिनियाँ वायुसेवाले उडान गर्ने इच्छा नदेखाएकाले अनुमति जारी गरिएको छैन । ‘लो–रिक्समा रहेको चीनले हाल विदेशी उडानलाई खुकुलो बनाइसकेको छैन,’ उप–प्रबन्धक भुलले भने, ‘यदि चीनतर्फबाट कुनै वायुसेवा तोकिए जुनसुकै बेला उडान अनुमति दिन सकिने छ ।’ उनका अनुसार चीनतर्फ कुनै वायुसेवाले उडान भर्न चाहेमा शनिबार वा आइतबार उडान तालिका दिइने छ ।

विदेशबाट नेपाल आउने यात्रुले अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने छ । होटल क्वारेन्टाइन बस्न अटेर गर्नेलाई हालै जारी भएको ‘कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा बनेको अध्यादेश’ मा उल्लेख भएको नियम अनुसार जरिवाना तथा सजाय हुने भनिएको छ । उडान सञ्चालनबारे पर्यटन मन्त्रालय र प्राधिकरणलाई जिम्मेवारी दिइएको छ । काठमाडौं आइसकेका यात्रुहरुको व्यवस्थापन सीसीएमसी र जिल्ला प्रशासन कार्यालय मातहतको डीसीसीएमसीले गर्ने छन् । यात्रुले होटल क्वारेन्टाइनको नियम पालना गरी घर फर्किदा आफैं सवारी साधान खोजेर जानुपर्ने छ ।

बिदा वा अन्य कारणले नेपाल आएका नेपाली वा यहाँ रहेका विदेशी नागरिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेश प्रस्थान गर्नुपरेमा उनीहरुसँग भएको हवाइ टिकट, भिसाका आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अनुमति जारी गर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *