बद्री नाथ झा | जनकपुरधाम | जेष्ठ १४ २०७८
प्रदेश सरकारले पत्रकारका लागि खरिद गरेको सेनिटाइजर गुणस्तरहिन, वितरण नगर्न आग्रह।
प्रदेश २ का आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलले नेपाल पत्रकार महासंघ प्रदेश कमिटीको समन्वयमा पत्रकारहरुलाई वितरण गरिरहेको स्यानिटाइजर विषयमा छानविन गर्ने भएको छ ।
औषधी व्यवस्था विभागले तोकेको मापदण्ड विपरित रहेका आरसीपी इन्डस्ट्रीज पर्साबाट उत्पादित स्यानिटाइजर पत्रकारलाई वितरण गरिरहेको समाचार जनकपुर टुडेले प्रकाशित गरेको थियो । सो समाचारको प्रभावले प्राधिकरण र काउन्सिलले बिहीवारबाट स्वास्थ्य सुरक्षा सामग्री वितरण रोकेको हो ।
प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव र काउन्सिलका अध्यक्ष शिवहरी भट्टराईले संयुक्त विज्ञप्ती जारी गरेर समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै उक्त स्यानिटाइजर कम्पनीमाथि छानविन गरी सप्लायर्स लाई कारबाही गर्ने जनाएका छन् । साथै नेपाल पत्रकार महासंघका सबै जिल्ला शाखालाई स्यानिटाइजर वितरण रोक्न अपिल गरेको छ । कतिपय जिल्लाले भने स्यानिटाइजर पत्रकारलाई बाँडिसकेको छ ।
प्रदेश सरकारको आर्थिक सहयोगबाट प्राधिकरण र काउन्सिलले प्रदेश २ मा नेपाल पत्रकार महासंघसँग आवद्ध ८ सय पत्रकारका लागि स्वास्थ्य सुरक्षा सामग्री खरिद गरेका छन् । जुन सुरक्षा सामग्रीको प्याकेजमा रहेको एकसय एमएलको स्यानिटाइजर अवैध ठहर भइसकेको छ । विभिन्न टिकाटिप्पणी सुरु भएपछि प्राधिकरण अध्यक्ष यादवले सामाजिक सञ्जाल फेसबुकमा ‘हाम्रो नियतमा खोट छैन, राम्रो गर्दागर्दै पनि कतैबाट नराम्रो भयो’ भन्ने प्रस्टीकरण दिएका छन् । उनले भनेका छन्, ‘ सिक्दैछु ।
जीवनमा आजसम्म गलत गर्न जानिन र गर्दिन पनि । यहाँहरु आफै निसाफ गर्नुहोला ।’ उनले औषधी व्यवस्थ विभागले तोकेको मापदण्ड उत्पादन नभएको स्यानिटाइजर वितरण गर्न लागेको र अहिले तत्काल अर्को स्यानिटाइजर उपलब्ध नभएसम्म वितरण कार्य रोकेको स्पष्ट पारेका छन् ।
नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष राजेश कुमार कर्ण समेतको सल्लाहमा प्राधिकरण र काउन्सिलबाट सामान खरिद भएको उनको भनाई छ ।