जेष्ठ १४ २०७८ | मुलुक डेस्क
आगामी जेठ १८ गतेदेखि सीमित मात्रामा अन्तर्राष्ट्रिय उडानहरु खुल्ला गर्ने नेपाल सरकारले निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषदको बैठकले आगामी जेठ १८ गतेबाट चीन, युरोपको टर्की र खाडी मुलुकको कतारमा उडान खुल्ला गर्ने निर्णय गरेको हो। उल्लेखित देशहरुमा साताको एक दिन उडान हुनेछन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैंठकले तीन मुलुकमा तत्कालका लागि हवाई उडान खुला गर्ने निर्णय गरेको संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले जानकारी दिए ।
मन्त्री ढकालका अनुसार टर्कीको इस्तानबुल, कतारको राजधानी दोहा र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरिएको हो । योसँगै स्वास्थ्य सामग्रीहरु ल्याउनका लागि पनि नियमित उडानले राहत पुग्ने बताइएको छ । हाल खुला गरिएका गन्तव्यमा कतारमा नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्सले उडान गर्दै आएको छ भने चीनमा चाइना साथर्न, एयर चाइना र हिमालय एयरलाइन्सले उडान गर्दै आएका छन् । युरोपको टर्किमा भने टर्किस एयरलाइन्सले उडान गर्दै आएको छ। मलेसिया, कतार, दुबईलगायतका श्रम गन्तव्य मुलुकहरुमा हवाई उडान रोकिँदा शव ल्याउनसमेत समस्या भएको भन्दै सम्बन्धित राजदुताबासहरुलले हवाई उडान खुला गर्न अनुरोध गर्दै आएका थिए ।