पुजा डोटेल जेष्ठ १३, २०७८
मैले आफुलाई प्रेम गरे केहि गुलाबी साझहरुमा । जतिबेला म एक्लो थिए । पग्लदै गरेको घामसंगै पहेलिदै थियो क्षितिज, रङगाउदै कतै टाढा कुनै देश । कुनै समुन्द्रका छालहरमा मेरा भावनाका भेल रङ्गिए सँगै ।
बाधेर नराख यो मनलाई पिंजडामा थुनिएको पन्छीलाई झै ! खुल्ला आकाशमा उड्न देउ एउटा स्वतन्त्र चरिलाई झै । यो धर्तीमा रमाउन देउ यो मनलाई । म यो मनको चाहनाहरु पुरा गर्नेछु, अघि बढ्दै हुनेछु एउटा सुमधुर सपनालाई पछ्याउदै । मलाई विश्वास छ म एकदिन सफल हुनेछु किनकी म आफुलाई विश्वास गर्छु । यो स्वार्थी दुनियाँलाई भन्दा बढी । किन थाहा छ ? किनकी हर कोही ले मेरो मन दुखायो होला तर मलाई थाहा छ मैले मेरो मन दुखाएकी छैन । म आफुलाई प्रेम गर्छु किनकी म आफुलाई बढी चाहन्छु । आज म यहाँ छु त्यसैले त मेरा इच्छा, सपना अनि चाहानाहरु जिवित छन् । बेड ल्याम्प को मधुरो रोशनीमा रातरात भर रित्तिउला झै रोइदिने यी आखाँहरु भोली फेरी उज्यालो भेट्न ब्युझिन्छु । रातभरि रङ्गहिन सपनाको धमिलो झरिमा रुझेपछि भोलि फेरी रङगीन सपनामा रमाउन तम्सिन्छन् । कुनै बेला हडबडीमा बडबडाउदै गडबडीमा पारिदिने यो ओठ कतै गएर फेरी प्रेमले निशब्द पारिदिन्छन् । कहिले गुलाबी त कहिले लाल लिपिस्टीक को सेडमा सजिन्छन् । क बाट कलम देखि क बाट कविता लेख्दा सम्म कहिल्यै नथाकेका यी औलाँहरु बाबाले एकदुई पाइला सार्न सिकाए देखि बाबासँगै रेस लगाउदासम्म नगलेका यी पाइलाहरु, म प्रेम कसरी नगरु ? म संगै बाचिरहने यी आखाँ, यी ओठ, यी औंला, यी पाइलाहरुलाई । मैले देखेको छु मेरा आखाँले देखेको यो रङगीन संसार, म पुगेको छु मेरा पाइला पुगेका हर गल्ली र गोरेटाहरु ।
मैले भेटेको छु मुटु रेटेर लाने केही धारीला नजरहरु, पाइला कुल्चिदै हिड्ने केही हतारिएका पाउहरु, बाटो छेक्ने पर्खालहरु, मुटु सिरिङग पार्ने चट्टानहरु, सुनेको छु चर्का बजारका हल्लाहरु सुटुक्क भएका सल्लाहरु । हो यो सत्य हो जिन्दगीको दौडमा अनेक चोट लागेको छ, म यहाँ किन छु भन्ने प्रश्नले आफ्नै अस्तित्व मारेको छ तर म हुनु र नहुनुले आखिर यहाँ मेरो परिवार बाहेक कसलाई के नै फरक पारेको छ र ? म हुँदा मैले तानेको अक्सिजन म नहुदा अलपत्र पर्दैन । जिन्दगी त यहाँ सयपत्री फुल जस्तै छन् हरेक पत्र पत्रमा नयाँ पात्रहरु भेटिन्छन् । नयाँ कथा, नयाँ मोड, नयाँ यात्रा अनि नयाँ अनुभव । यो सत्य हो की जिन्दगीले अमिलो चुकको स्वाद यदि चखायो कि मन कुडिएको छ तर जिन्दगी विशाल हिमाल कहाँ हो र स्वाद चाख्नै नमिल्ने ? यहाँ त चोक चोकमा चास्निमा डुबिएका गुलिया मुस्कानहरु छन्, अमिलो पिरो चट्ट मिलेका भावनाका चाटहरु छन् । महमा झै मिठास भएका चियाका चुस्किहरु छन् ।
यहाँ थोपा थोपा वर्षातमा जब सूर्य प्रकाशको कण कण ठोकिन्छ तिम्रो धमिलो सपनाको रङगहीन वर्षा रङ्गाउन पुग्ने रङ उदाँउछ । अब म आफ्नै जिन्दगलिाई यस्तो प्रेम पत्र लेख्छु कि “ए जिन्दगी म तिमीलाई यसरी नै प्रेम गर्छु” हिस्साहरुमा केही यस्तै रमाइला किस्साहरुमा । जब मेरी आमाका औंलाहरुले बढो प्रेमले सुमसुमायका मेरा कपलाका केस्राहरबाट बतासले सुस्तरी स्याम्पूको राग चोरेर लान्छ, कुनै संगीतकारले प्रेमले रचेको धुन मेरो शरीरबाट आत्मा सोरेर लान्छ । जब ऐना अगाडि उभिदा अनायास यी ओठबाट मुस्कान निस्किन्छ तब आफैलाई अङ्गाल्न मन लाग्छ, गर्वले आफ्नै काध थपथपाउन मन लाग्छ । हो यो सत्य हो म आफुलाई प्रेम गर्छु हिस्साहरुमा केही यस्तै रमाइलो किस्साहरुमा ।