५ जेष्ठ २०७८ | मुलुक डेस्क

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजित बरालको निधन भएको छ । बरालको पारिवारिक स्रोतले दिएको जानकारीअनुसार ९३ वर्षीय बरालको बुधबार महाराजगञ्जस्थित घरमै निधन भएको हो।बराल २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक बनेका थिए । उनी पूर्वसांसद एवम् बर्माका लागि पूर्वराजदूत समेत बनेका थिए । राणा शासनविरूद्ध कांग्रेसले सुरू गरेको सशस्त्र आन्दोलनमा उनी मुक्ति सेनाका सिपाही थिए।

उनको आजै दिउँसो अन्तिम संस्कार गरिने छ। प्रहरी सेवाबाट अवकाश प्राप्त गरेपछि उनले ६ वर्षसम्म बर्माको लागि आवासीय नेपाली राजदूत, इन्डोनेसिया, सिङ्गापुर र फ्रेन्च इन्डो-चाइना (लाओस, कम्बोडिया, भियतनाम)को लागि गैरआवासीय नेपाली राजदूतको जिम्मेवारी वहन गरेका थिए। बर्माका लागि नेपाली राजदूतबाट निवृत्त प्राप्त गरेपछि उनी राष्ट्रिय पञ्चायतमा मनोनित सांसद भएका थिए।

सांसदको रूपमा सेवा समाप्त गरेपछि उनले युनाइटेड नेसन्स ट्रान्जिसन्ल अथरिटी इन कम्बोडिया (उन्टाक)को प्रमुख सम्पर्क अधिकृत भए। बराल लोक सेवा आयोगबाट नेपालको तत्कालीन सरकारमा प्रहरी महानिरीक्षकको लागि सिफारिस हुने प्रथम स्नातकोत्तर उतीर्ण प्रहरी अधिकृत हुनका साथै ४४ वर्षको कनिष्ठ उमेरमा महानिरीक्षक हुने प्रथम व्यक्ति हुन्।

साधारणतया प्रहरी प्रमुखको कार्यकाल ४ वर्षको हुने भएतापनि नेपाल प्रहरीको इतिहासमा ६ वर्षसम्म प्रहरी महानिरिक्षक जिम्मेवारी वहन गर्ने दुई जना मध्ये उनी र रोम बहादुर थापा हुन्। आफ्नो कार्यकालमा प्रहरीमा ‘गाँस’ (रासन), ‘बास’ (भवन) र ‘कपास’ (पोशाक) को व्यवस्था गरेर प्रहरीको मनोबल उच्च बनाउन सफल भएकाले उनलाई नेपाल प्रहरीको इतिहासमा सबैभन्दा दूरदर्शी र प्रभावशाली प्रहरी महानिरीक्षक मानिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *