संजीव सिंह | ४ जेष्ठ २०७८
नेपालको लोकतान्त्रिक आन्दोलनका योद्धा नेता जितेन्द्र सिंहको निधन भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य सिंहको कोरोनाको कारण निधन भएको छ । नेता सिंह बाराको पचरौता–१, पिपरपातीका स्थायी बासिन्दा थिए । मृगौला र मधुमेह रोगबाट ग्रसित ५१ वर्षिय सिंहको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज मंगलबार बिहान निधन भएको हो ।
“कायरोके द्वारा बिद्रोहका इतिहास नही” अर्थात डराउनेले बिद्रोहको इतिहास लेख्न सक्दैन भन्ने नारा दिन सफल नेता थिए – जितेन्द्र सिंह । युवा, जुझारु र निडर सिंह स्पष्ट वक्ता र तार्किक बुद्धिजिवी पनि थिए । आफ्नो वाक कला र घन्टौ भाषण गर्ने क्षमताले गर्दा पार्टी र समाजमा अलग्गै महत्व स्थापित गरेका थिए ।
हेटौडा फरेस्ट्री कलेजबाट अध्ययन गरेका सिंह २०४४/०४६ सालमा त्यहाँका स्वबियू सभापति बन्न समेत सफल भएका थिए । युवा अवस्थादेखि नै राजनीतिमा सक्रिय रहदै आएका नेता सिंह विभिन्न सरकारी निकायमा समेत नेतृत्वदायि भूमिकामा रहेका थिए । नेपाल खानेपानी संस्थानका पूर्व कार्यकारी अध्यक्ष एवं महाप्रबन्धक रहि सकेका नेता सिंह एक कुशल व्यवस्थापक पनि थिए ।
समाजसेवी नेता सिंह राजनीति मार्फत समाज र राष्ट्रलाई सहि दिशा तथा नेतृत्व प्रदान गर्न सकिन्छ भन्ने सिद्धान्तमा विश्वास गर्दथे । उनी इमान्दार र निष्ठाको राजनीतिलाई आत्मसाथ गर्नमा आफु र अरुलाई प्रेरित गर्दथे । उनी पूर्व राजपाका महासचिव पनि थिए । मधेश आन्दोलनका सशक्त र क्रान्तिकारी अगुवा नेता सिंह अन्य दलका नेतामाझ र जनतामा पनि उत्तिकै लोकप्रिय थिए । नेता सिंह पहिलो र दोस्रो संविधानसभामा बारा क्षेत्र नं.२ बाट चुनाव लडेका थिए । रौशन र अक्षय गरी उनका दुई सन्तान छन् जो हाल अमेरिकामा बस्दै आएका छन् ।
एक साता पूर्व कोरोना संक्रमण पुष्टि भए लगतै होम आइसोलेसनमा रहेका थिए । अचानक स्वास्थ्य विग्रिएपछि शनिबार वीरगंजको अलि अर्थो एण्ड ट्रामा सेन्टरमा भर्ना गरिएको थियो । उपचारकै क्रममा आँखा सुन्निु र नाकबाट रगत बगेपछि थप उपचारका लागि सोमबार साँझ एयर लिफ्ट अर्थात हेलिकप्टर बाट काठमाडौं लगिएको थियो । सायद यो आकाश यात्रानै उनको जीवनको अन्तिम उडान सावित भयो र अन्ततः मंगलबार विहानै मृत्युलाई आत्मसाथ गरे ।