०४ जेठ २०७८ | मुलुक डेस्क

जसपाभित्र 'सरप्राइज एकता' : महन्थ र उपेन्द्रले संयुक्त वक्तव्य निकाले

विभाजनको डिलमा पुगेको जनता समाजवादी पार्टी (जसपा) भित्र फेरि अचम्मको मेलमिलाप देखिएको छ।

अलग अलग बैठक र अलगअलग वक्तव्य निकाल्दै आएका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त वक्तव्य जारी गरेका छन्। जसपाको यो ‘सरप्राइज एकता’ लाई अर्थपूर्ण रुपमा लिइएको छ। यसले राष्ट्रिय राजनीतिलाई समेत तरंगित गरेको छ।

ठाकुर र यादवले संयुक्त विज्ञप्ति जारी गरेर जसपा सरकारमा सहभागी नहुने प्रष्ट पारेका छन्।‘पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क र वितर्क एवम अड्कलबाजी भइरहेका छन्। तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन। जसपा सरकारमा सहभागी नभइ प्रतिपक्षमै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत छ,’ विज्ञप्तिमा भनिएको छ,‘राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुने अवस्थामा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ।’

वैकल्पिक  सरकार गठनको तयारीसँगै संसद्को निर्णायक खेलाडी जनता समाजवादी पार्टीभित्र कलह चर्किएको थियो। उपेन्द्र यादव र बाबुराम भट्टराई  विपक्षी गठबन्धनमा सामेल भएर नयाँ सरकार बनाउने अभियानमा लागेका थिए भने महन्थ ठाकुर र राजेन्द्र महतोले भने अप्रत्यक्ष रुपमा सरकारलाई सघाएका थिए। गत वैशाख २७ गते संसदमा प्रधानमन्‍त्रीले विश्‍वासको मत दिने क्रममा जसपा विभाजित भएको थियो। उपेन्द्र पक्षका १५ जनाले विपक्षमा मत हाले भने ठाकुर पक्षका १५ जना तटस्थ बसे र दुईजना अनुपस्थित रहेका थिए।

प्रधानमन्‍त्री केपी ओलीले विश्‍वासको मत नपाएपछि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केनद्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर उपेन्द्रले वैकल्पिक सरकार गठनको लागि प्रकिया थाल्‍न राष्ट्रपतिलाई आग्रह गर्दै संयुक्त वक्तव्य निकालेका थिए। अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार बनाउ उपेन्द्रको सक्रियता पार्टी निर्णय र लाइन विपरीत भन्दै अलग्गै विज्ञप्ती निकालेका छन्। राष्ट्रपतिलाई समेत उपेन्द्रको पत्राचार वा निर्णय वैधानिक नभएको भन्दै लेखी पठाएका थिए। महन्थ ठाकूर पक्ष वैकल्पिक सरकारका लागि तयार नभएपछि संविधानको धारा ७६ (३)अनुसार केपी ओली नै ठूलो दलको नेताको हैसियतले पुन: प्रधानमन्‍त्री नियुक्त भएका थिए। 

त्रिशंकु संसद्को अंकगणितमा ३४ सिट भएको जसपा निर्णायक खेलाडीको भूमिकामा छ। उसले समर्थन गर्‍यो भने ओली सरकार सुरक्षित हुनेछ भने जसपाको साथ भयो भने विपक्षीहरूले वैकल्पिक सरकार गठन गर्ने अवस्था छ। जसपा तटस्थ बस्यो भने मुलुक फेरि निर्वाचनतर्फ जाने अवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *