राजेश झा | जेठ ३ २०७८

कोरोना भाइरसको संक्रमण दर बढ्दै जाँदा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले कोरोना संक्रमित ब्यक्तिहरुलाई औषधि वितरण थालेको छ । तिलाठी कोइलाडी गाउँपालिकाले कोरोना पोजिटिभ ब्यक्तिको घरमा स्वास्थ्यकर्मीमार्फत औषधि वितरण सुरु गरेको हो । वडा नं. १ तिलाठीबाट आइतबारदेखि गाउँपालिकाको कोभिड १९ सम्पर्क ब्यक्ति जनस्वास्थ्य अधिकृत भूपेन्द्र झा र जनस्वास्थ्य निरीक्षक दिपक मण्डलले औषधि वितरण सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झाले बताए ।

जिल्लामा कोरोना संक्रमितको चेन तोड्न जिल्ला प्रशासन कार्यालय सप्तरीले निषेधाज्ञा लगाएको कारण संक्रमितहरु आवश्यक औषधि खरिद गर्न नसक्ने कुरालाई ध्यानमा राखी संक्रमित ब्यक्तिको घरदैलोमै औषधि पु¥याउने अभियान थालिएको गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले बताउनुभयो । संक्रमित ब्यक्तिलाई निको हुन चिकित्सकको परामर्शमा आवश्यक औषधिहरुको किट वितरण थालिएको अध्यक्ष सिंहको कथन छ ।

सप्तरीमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा तिलाठी कोइलाडी गाउँपालिकामा समेत संक्रमितको संख्या दिनानुदिन बढ्दो रहेको छ । दोस्रो लहरमा एन्टीजेन जाँचबाट ७ जनासहित जम्मा ४६ जना संक्रमित देखिएको छ । कूल संक्रमितमध्ये ३७ पुरुष र १० महिलासहित ४७ जना संक्रमित भएको छ भने दुई जना पुरुषको मृत्यु भएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले बताए ।

गाउँपालिकाको वडा नं. १ बेल्हीस्थित भन्सार चौकमा चैत्र १२ गतेदेखि सञ्चालित हेल्थ डेस्कमा जेठ २ गतेसम्ममा भारतबाट फर्किएका १ हजार १ सय ९१ जना ब्यक्तिको जाँच गरिएको छ । भारतबाट फर्किएकामध्ये २ सय ८० जना महिला र ९ सय ११ जना पुरुष रहेको विपद् ब्यवस्थापन अधिकृत झाले जानकारी दिनुभयो । हेल्थ डेस्कमा भारतबाट फर्किने ब्यक्तिको तापक्रम लिई शंकास्पद वा लक्षण देखिने ब्यक्तिको एन्टीजेन टेष्टको समेत ब्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published.